गृहपृष्ठ » मुख्य समाचार, समचारडेढ वर्षदेखि जंगल छेउको बास: सरकारको आश गर्दागर्दै सधैं निराश

डेढ वर्षदेखि जंगल छेउको बास: सरकारको आश गर्दागर्दै सधैं निराश

January 1, 2016१८८ पटक

मदन पौड्याल

काठमाडौं, पुस १७ – २०५६ साल मंसिरमा घर बनाउँदा खसेर मेरुदण्ड नै भाँच्चिएका सुर्खेत लेकपराजुलका कृष्णबहादुर कामीसँग अहिले बस्ने बास छैन । घर बनाउँदा नै खसेर शारिरीक रुपमा अशक्त बन्नुभएका उहाँले त्यही घर पनि धित पुग्नेगरी हेर्न पाउनुभएन ।

सकीनसकी बनाएको घर बाढीले लग्यो । घर बनाएको १५ वर्षपछि २०७१ साल साउन २९ गतेको बाढी पहिरोले घर लगेपछि उहाँ ५ जनाको परिवार सहित सुर्खेत लेकपराजुल हटारुखोलाको अस्थाई शिविरमा हुनुहुन्छ । बाँकेको नेपालगंजबाट ८० किलोमिटर पश्चिममा पर्ने सुर्खेतको हटारुखोला पुल छेवैमा रहेको शिविरमा अहिले झण्डै २५ परिवार छन् । सुर्खेत छिन्चुबजारदेखि ६ किलोमिटर पश्चिम लाग्दा महेन्द्र राजमार्गको देव्रेपट्टि लेकपराजुलकै हटारुखोलामा अस्थाई शिविर बसेको पनि डेढ बर्ष भैसकेको छ । भेरी नदीमा आएको बाढी र पहिरोले घरबार गुमाउनेहरु विस्थापित बन्नुपरेको थियो । डेढ वर्षअघि घर बाढी पहिरोले बगाएपछि विस्थापित बनेका सुर्खेत लेकपराजुल गाविसका ६६ घर परिवारमध्ये झण्ड २५ परिवार अहिले पनि अस्थाई शिविरमै छन् ।

कृष्णबहादुर मात्रै होइन,  शिविरमा बस्ने सबैको समस्या छ । सक्नेहरुको त दिनभरी ज्याला मजदुरी गरेर साँझ बिहानको छाक चलेको छ तर घर कहाँ बनाउने कसरी बनाउने भन्ने अहिलेसम्म टुङगो भने छैन । सरकारले विस्थापितलाई क्षति अनुसार पूर्ण, आँशिक भनेर लागत लिएको भएपनि कतिपय विस्थापितको नामै छुटेको छ भने कतिपयले अझै राहत नपाएको गुनासो गर्छन । राहत भनेर ५० हजार पाएकाहरुले पनि घर बनाएका छैनन् । ‘हामी सर्वस्व गुमाएकालाई त्यो ५० हजारले के गर्ने ?’ विस्थापित कृष्णबहादुरको प्रश्न छ । ज्याला मजदुरी समेत गर्न नसक्ने उहाँ भन्नुहुन्छ, ‘न त बिहान बेलुका खाने पर्याप्त चामल छ न त नुन नै । शिविरमा बसेको डेढ बर्ष भयो, अव त सरकारले हेर्ला कि भन्ने बेलामा भूकम्प गयो । सबै ध्यान भूकम्पमा केन्द्रित भएपछि हामीजस्ता विस्थापितको विजोग भयो । सरकारले घर बनाउँन रकम दिने घोषणा गरेको भएपनि अहिलेसम्म पाउन सकेका छैनौं ।’

शिविरमा ओढ्ने ओछ्याउने छैन । चिसोले ज्यान कठ्याङ्गरिन्छ । नजिकै बग्ने छिन्चु खोलाको चिसो सिरेटो र शितले बालबच्चा बिरामी पर्छन् । समयमा ओखतीमुलो गर्ने पैसा पनि छैन । भएको घर पहिरोले लग्यो । कहाँ गएर बस्ने बास छैन । आफन्तको पनि उस्तै अवस्था छ । दिनभरी जंगल गएर ल्याएका दाउरा बालेर जाडो छेक्नु बाहेक अरु विकल्प नभएको विस्थापित बताउँछन् ।

आधा रातसम्म सबै जम्मा भएर आगो ताप्ने, कुराकानी गर्ने अनि पालभित्र जे छ त्यसैमा रात काट्नुपर्ने अवस्था छ । कल्पनासम्म पनि नगरेको ठाउँमा बाढी र पहिरोले विध्वंश गरेको सम्झिदा उनीहरुका आँखा नै रसाउँछन् । भूकम्प पीडितका जस्तै उनीहरुका पनि दैनिकी कष्टकर छन् । धुलो उड्ने सडक छेउमा

रेडक्रसले दिएको अस्थायी पाल टाँगेर बसेको लामो समय हुँदा पनि अझै उनीहरुले घर बनाउन सकेका छैनन् । घर बनाउन नसक्दा बालबालिका, वृद्धवृद्धा सबैको विचल्ली भएको छ ।

सक्नेले दिनभरी छिन्चु खोला किनारमा गिट्टी कुट्ने, वनजंगलको दाउरा खोज्ने र पुरुषहरुले ज्याला मजदुरी गरेर छाक सम्म जसोतसो टरेको छ, शिविरमा बस्दै आएकी निर्मला विकले गुनासो गर्नुभयो । २ छोराछोरी र श्रीमानसँगै शिविरमा बस्दै आएकी उहाँको शिविरमा बस्नु रहर होइन बाध्यता नै बनेको छ ।

‘श्रीमानलाई कमाउन लाहुर जानुस् पनि भन्न सकेकी छैन’ उहाँले भन्नुभयो । सडकको छेउ  नजिकै जंगल र खोला छ, ढोका विनाका खुला पाल छन् डर त्रासमै बस्नुपरेको छ । पानी लिन १५÷२० मिनेट टाढा जानुपर्छ । विद्यालय पनि नजिक नहुँदा बालबालिकाले पढ्न पाएका छैनन् । सरकारले घर बनाउने राहत

तत्काल नदिँदा आफुहरु समस्या झेल्दै शिविरमा बस्नुपरेको उनीहरु गुनासो गर्छन । विस्थापित भन्छन्, ‘हामीलाई सरकार, संघ संस्थामार्फत् आयमुलक सीप र तालिम सम्म दिएपनि बालबालिका पढाउन र दैनिकी सहज बनाउन भएपनि केहि सहज हुन्थ्यो होला ।’

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण