गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित

ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित

January 25, 2016३३२ पटक

बागलुङ, माघ ११ गते –भूकम्प, नाकाबन्दी र इन्धन सङ्कटले यहाँ निर्माणाधीन ठेउलेखोला जलविद्युत् आयोजनाको काम प्रभावित बनेको छ । जिल्लाको कुश्मीसेरा, सर्कुवा र विनामारे गाविसमा बन्न लागेको सो जलविद्युत् आयोजनाको निर्माणकार्य यसै वर्ष पूरा हुनुपर्नेमा निर्माण अवधि वर्षदिन पछि धकेलिएको छ ।

१।५ मेगावाट क्षमताको सो आयोजनाको काम गत असारदेखि पुससम्म ठप्प बनेको साइट इन्जिनियर सागर शर्माले बताउनुभयो । माघ लागेपछि काम सुरु भएपनि पहिलेकै गतिमा काम हुन अझ केही साता लाग्ने उहाँको भनाइ छ । गत मङ्सिरभित्र निर्माणसक्ने लक्ष्य लिइए पनि हालसम्म ४० प्रतिशतमात्र काम पूरा भएको इन्जिनियर शर्माले जानकारी दिनुभयो ।

“भूकम्पपछि नै आयोजनाको काम प्रभावित बनेको छ, नाकाबन्दी र इन्धन सङ्कटले त काम ठप्प भयो” – इन्जिनियर शर्माले भन्नुभयो । भूकम्प गएपछि घर गएका प्रभावित क्षेत्रका मजदुरहरु लामो समयसम्म काममा फर्कन नसकेको उहाँको भनाइ छ । “मजदुरहरु पनि नियमित काममा आउने अवस्था रहेन, निर्माण सामग्री र इन्धनको पनि आपूर्ति हुन सकेन” – साइट इन्जिनियर शर्माले भन्नुभयो ।

निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको लागत पनि दश प्रतिशतले बढ्ने अनुमान गरिएको छ । सहजरुपमा इन्धन उपलब्ध हुन नसके फेरि पनि आयोजनाको काममा बाधा आउने आयोजना व्यवस्थापनले जनाएको छ । वर्षायामअगावै ८० प्रतिशत काम पूरा हुने आयोजनाका जनसम्पर्क अधिकृत सूर्य पौडेलले बताउनुभयो । सिभिलतर्फको अधिकांश काम पूरा भइसकेको उहाँको भनाइ छ ।

इलेक्ट्रो मेकानिकतर्फको कामलाई पनि तीव्ररुपमा अघि बढाइएको अधिकृत पौडेलले जानकारी दिनुभयो । साइट इन्जिनियर शर्माका अनुसार बाँध निर्माण, इन्टेकको काम पूरा भइसकेको छ । आगामी वर्षभित्र आयोजनाको काम पूरा भई विद्युत् उत्पादन हुने उहाँको भनाइ छ । कुश्मीसेरा र सर्कुवाको सीमामा रहेको ठेउलेखोलाको पानीलाई चार मिटर अग्लो बाँध बाँधेर २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत विनामारे–२ मा रहेको विद्युत्गृहमा खसालिने छ ।

त्यहाँ उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोडिने साइट इन्जिनियर शर्माले बताउनुभयो । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद–बिक्री सम्झौता गरिसकेको छ । करिब रु ३० करोडको लागतमा बाराही हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजनामा स्थानीयवासीको समेत १० प्रतिशत सेयर छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण