गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारमहालेखाको वित्तिय व्यवस्थापन अभियान

महालेखाको वित्तिय व्यवस्थापन अभियान

January 26, 2016२०२ पटक

बागलुङ, १२ माघ- सार्वजनिक वित्तीय क्षेत्रमा देखिएको अनियमितता अन्त्य गर्दै भ्रष्ट्राचार मुक्त समाज निर्माण गर्ने महालेखा परिक्षकको कार्यालयले अभियान थालेको छ । महालेखाको सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) सचिवालयले ७५ वटै जिल्लाका सरकारी कार्यालयका लेखापाललाइ पारदर्शीता र वित्तिय व्यवस्थापन बारे तालिम दिएर अभियान थालेको उपमहालेखा नियन्त्रक थानेश्वर गौतमले बताए । देशभरमा पहिलो पटक बागलुङका सबै सरकारी कार्यालय र पश्चिमाञ्चलका १६ जिल्लाका कोलेनिकाका लेखापाललाइ एउटै स्थानमा राखेर वित्तिय व्यवस्थापन तालिम दिन थालेको छ । यो अभियानलाइ सफल बनाउन भ्रष्ट्राचारमा शुन्य सहनशिलता सम्बन्धी अवधारणलाइ पनि प्राथमिकता दिने उनले बताए । ‘कुनै बेला लेखा शाखा भनेको गोप्य राख्ने सोचाइ थियो, अहिले परिवर्तन भएको छ’ गौतमले भने, ‘सार्वजनिक उत्तर दायित्व स्वरुप पारदर्शी र समय समयमा खर्चको सार्वजनिकीकरण गर्नुपर्ने कानूनी प्रावधान आइसक्यो ।’ प्रत्येक नागरिकले जान्न पाउने अधिकार भएकोले पुरानो वित्तिय व्यवस्थापनमा आधुनिकीकरण गर्न जरुरी भएको पनि उनले बताए । विश्वका शक्तिशाली देशहरु पारदर्शीता र भ्रष्ट्राचार मुक्त भएकै कारण विकशित भएको इतिहासलाइ अव नेपालले आत्मसाथ गर्नुपर्ने प्रमुख कोष नियन्त्रक रामजीप्रसाद शर्माले बताए । ‘लेखा सेवामा प्रवेश गरेका सबै कर्मचारी र पुरानालाइ पनि एकैस्थानमा राखेर अभियानबारे तालिम दिइनेछ’ शर्माले भने, ‘पुरानाको अनुभव र नयाँको क्षमतालाइ एककिृत गरेर सार्वजनिक वित्तिय क्षेत्र पारदर्शी र आधुनिक बनाइने छ ।’ महालेखाले ७५ वटै जिल्लाको खर्चलाइ हरेक दिन सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ । अनलाइन मार्फत काम गर्ने व्यवस्था गरेकोले प्रत्येक चेकको कारोवार हुनासाथ सबै जिल्लाको कोलेनिका र महालेखामापनि त्यसको विवरण सर्वजनिक हुने गर्छ । आर्थिक बर्षको मध्यावधि मूल्यांकन तथा बार्षिक र मासिक मूल्यांकनका लागि यो अभियान उचित भएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारीले बताए । केहीबर्षदेखि हरेक जिल्लामा प्रमुख कोष नियन्त्रकको संयोजकत्वमा सहायक प्रजिअ, उद्योग वाणिज्य संघ र केही विषयगत कार्यालयका लेखा अधिकृत समेत रहेको जिल्ला पेफा कार्यान्वयन इकाइ समेत गठन भएको छ । इकाइले पनि जिल्ला तहमा वित्तिय व्ययवस्थापनका लागि काम गर्दै आएको शर्माले बताए । तालिममा प्रहरी, सेना र अन्य सुरक्षा निकायका लेखापालाले पनि भाग लिनै पर्ने व्यवस्था गरिएको छ । सोमबार देखि बागलुङमा शुरु भएको तालिम उद्घाटनको अवसरमा प्रजिअ बिष्णुप्रसाद पोखरेलले लेखापाल सँग जोडिएको विषय भएपनि कार्यालय प्रमुखलाइ समेत लेखा व्यवस्थापनको सामान्य जानकारी दिनुपर्ने धारणा राखे । उनले जानकारी अभावमा लेखापालको परामर्शमा मात्र कार्यालयको नियमित खर्च व्यवस्थापन गर्न सकेको बताए । प्रमुख कोष नियन्त्रक रामजीप्रसाद शर्माको अध्यक्षता, कोष नियन्त्रक महादेव सापकोटाको संचालन र लेखा समाजका अध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागतमा सम्पन्न उद्घाटन कार्यक्रममा उपमहालेखा नियन्त्रक गौतम र भुवन काफ्ले, पत्रकार महासंघका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले बोलेका थिए । तालिम ३ दिन सम्म चल्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण