गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचार, स्वास्थ्यकोइरालालाई सभापतिमा नउठ्न कार्यकर्ताको दबाब

कोइरालालाई सभापतिमा नउठ्न कार्यकर्ताको दबाब

February 1, 2016३४८ पटक

कोइरालाले भित्रभित्रै उम्मेदवारीको तयारी गरिरहेको स्रोतको भनाइ
is.jpgकाठमाडौं माघ १८, २०७२- कांग्रेस सभापति सुशील कोइरालालाई पार्टीको १३ औं महाधिवेशनमा उम्मेदवार नबन्न संस्थापन पक्षकै प्रभावशाली नेताहरूले दबाब दिएका छन् । पार्टी सञ्चालनको कार्यशैली र असोज २५ मा प्रधानमन्त्री निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण कार्यकर्तामा असन्तुष्टि बढेको भन्दै उम्मेदवार नहुन दबाब दिइएको हो ।

उनीहरूले १२ औं महाधिवेशनजस्तो अवस्था यसपटक नरहेको भन्दै कोइरालालाई सजग रहनसमेत आग्रह गरे । तर, कोइरालाले भित्रभित्रै उम्मेदवारीको तयारी गरिरहेको स्रोतको भनाइ छ ।

संस्थापन पक्षबाट उम्मेदवार तय गर्न सभापति कोइरालाले आइतबार साँझ महाराजगन्जस्थित निवासमा बोलाएको बैठकमा उपसभापति रामचन्द्र पौडेलले आफ्नो पक्षमा उम्मेदवारको निर्णय गर्न आग्रह गरेका थिए । उनले आफू धेरै अघि बढिसकेको बताउँदै पछि नहट्ने बताए । तर, पौडेलप्रति पनि दोस्रो पुस्ताका नेताहरूले समर्थन जनाएनन् ।

महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, रामशरण महत र अर्जुननरसिंह केसीले पार्टीको तीन शीर्ष नेतृत्वप्रति नै कार्यकर्ताको धारणा नकारात्मक रहेको भन्दै दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका थिए ।

संस्थापन पक्षभित्र कोइराला र पौडेल अभिभावकको भूमिकामा रहेर दोस्रो पुस्ताका नेतालाई उम्मेदवार बनाउन भूमिका खेल्नुपर्ने भन्दै उनीहरूले नेतृत्वका लागि आ–आफ्नो दाबी पनि कसे । १२ औं महाधिवेशनको तुलनामा यस पटक वरिष्ठ नेता शेरबहादुर देउवाको अवस्था सुदृढ रहेको निष्कर्षसमेत निकालिएको थियो ।

दोस्रो पुस्ताका नेताहरूले कोइराला र पौडेल दुवै पछि हटे आफूहरूले मिलेर एक जना मात्र उम्मेदवार बनाउनेसमेत बताएका थिए । दोस्रो पुस्ताका नेताले प्रतिस्पर्धा गर्दा संस्थापन पक्षको अवस्था बलियो हुने उनीहरूको भनाइ थियो । बैठकमा कोइरालाले भने आफैं उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका थिए । पार्टीलाई बचाउनका लागि पनि आफैं उम्मेदवार हुनुपर्ने उनको तर्क थियो । ‘जसरी पनि यो पार्टी बचाउनुपर्छ, हामीहरूको हातबाट पार्टीको नेतृत्व गयो भने खतम हुन्छ,’ कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई कसरी बचाउने भन्नेबारे सोच्नुहोला ।’

उपसभापति पौडेलले आफूप्रति पटक–पटक अन्याय हुँदै आएको बताउँदै आफ्नो पक्षमा निर्णय लिन दबाब दिएका थिए । तर, महामन्त्री सिंहले तत्कालै तीनै जना नेता (सभापति कोइराला, वरिष्ठ नेता देउवा र उपसभापति पौडेल) को पक्षमा आम कार्यकर्ता नभएकाले दोस्रो पुस्तालाई छाड्न आग्रह गरेका थिए । ‘कार्यकर्ताले तपाईंहरूलाई मान्दैनन्, किन उठ्न पर्‍यो ?’ कोइराला र पौडेलप्रति लक्षित गर्दै महामन्त्री सिंहले भने, ‘म र शशांक कोइरालाको टिम बनाएर अघि बढ्दा गणेशमान र बीपीको लिगेसी जोडिन्छ । यसले आम कार्यकर्तामा पनि उत्साह जाग्छ र राम्रो टिम पनि बन्छ ।’

लगत्तै अर्का महामन्त्री सिटौलाले संस्थापन पक्षमा सबभन्दा बढी मत आफ्नो पक्षमा आउने दाबी गरे । ‘१२ औं महाधिवेशनको जस्तो अवस्था अहिले छैन । तीनै जना नेताको पक्षमा आम जनमत देखिन्न । संस्थापन पक्षमा सबभन्दा मेरो मत बढी आउने अवस्था मैले देखिरहेको छु,’ नेतृत्वका लागि उम्मेदवारीको दाबी प्रस्तुत गर्दै सिटौलाले भने, ‘तपाईंहरू विश्राम लिनुहोस् । अब पार्टी चलाउन दोस्रो पुस्तालाई छाडिदिनुहोस् ।’ कोइरालालाई रोक्न सकेमा आफैं उम्मेदवारीका लागि अघि बढ्ने सिंह र सिटौलाको तयारी छ ।

सिटौलाले कोइरालालाई प्रधानमन्त्री पदमा प्रतिस्पर्धा गरेका कारण कार्यकर्तामा असन्तुष्टि बढेको र १२ औं महाधिवेशनको जस्तो ‘पोजिसन’ अहिले नभएको बताए । नेतृत्वका लागि दाबी गरेका नेताहरूले दोस्रो पुस्तालाई सहयोग गरेको अवस्थामा पार्टी नेतृत्व संस्थापन पक्षबाट बाहिर नजानेमा जोड दिएका थिए ।

केन्द्रीय सदस्य केसीले कसैलाई सधैं ‘पावर’ मा मात्रै राख्ने र कसैमाथि अन्याय मात्रै गर्ने काम भएको भन्दै कोइरालाप्रति आक्रोश पोखेका थिए । उनले महामन्त्रीका लागि ठाउँ नपाएको अवस्थामा सभापतिकै लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । अर्का नेता महतले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि तीन नेताको पक्षमा नरहेको बताए । ‘तपाईंहरूले अब पार्टी चलाएर चल्दैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि तपाईंहरूको पक्षमा देखिन्नँ,’ महतको भनाइ थियो, ‘तपाईंहरू (कोइराला र पौडेल) लाई हामीले सार्वजनिक रूपमा बोल्दा जोगाइदिएका कारण मात्रै बच्नु भएको छ । अरूहरूले जस्तो बोलिदिए स्थिति अर्कै हुन्छ ।’

सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्दै आएकी सुजातालगायत कोइराला परिवारका अन्य सदस्य भने त्यहाँ थिएनन् । केन्द्रीय सदस्य महेश आचार्य र मीनेन्द्र रिजालले आकांक्षा राखेनन् । रिजालले कोइराला र पौडेल बीचबाटै सहमतिमै उम्मेदवार तय गर्न आग्रह गरेका थिए । उनको मनसाय कोइराला नै उम्मेदवारी हुनुपर्ने भन्ने थियो ।

आचार्य भित्री रूपमा कोइराला उम्मेदवारी नभइदिए हुन्थ्यो भन्ने पक्षमा छन् । उनी पछिल्लो पटक पौडेललाई उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । बैठकमा पौडेलले ‘आजै खुलेरै बोलिदिनुहोस् महेशजी’ भनेर आग्रह गर्दा उनले कसैको पक्ष लिएर बोलेनन् । उनले संस्थापन पक्षले मिलेर एउटै उम्मेदवार दिनुपर्ने बताए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण