गृहपृष्ठ » मुख्य समाचारम्याग्दीमा चौबीस घरधुरी विस्थापित

म्याग्दीमा चौबीस घरधुरी विस्थापित

August 9, 2015१४२ पटक

Myagdi-Mapम्याग्दी, २४ साउन-म्याग्दीको ओखरबोटमा घर पहिरोको जोखिममा परेपछि २४ घरधुरी विस्थापित भएका छन् ।

ओखरबोट–९ जुगेपानीमा गएको पहिरोले सातवटा घर भत्किसकेका छन् भने २७ घर जोखिममा परेका छन् । तीन घरपरिवार भने सर्ने ठाउँ नभएकाले जोखिमयुक्त घरमै बस्ने गरेका छन् । तीन वर्षअघि ओखरबोट–८ र ९ मा पर्ने उक्त स्थानमा पहिरो जान सुरु गरेको थियो ।

बस्तीको तलबाट पहिरोले घर भत्काएपछि नौ परिवार विस्थापित भएर हिउँदमा बस्नलाई बनाएको गोठमा सरेको स्थानीयवासी लालबहादुर बिकले बताए । पहिरोका कारण घर चर्किएका छन् । बारीमा धाँजा फाटेर चिरा परेको छ । सात घर पहिरोका कारण भत्किसकेको र अहिले २४ घरपरिवार विस्थापित भएर गोठ, मकैबारीमा टहरा बनाएर तथा आफन्तकहाँ आश्रय लिएर बसेका स्थानीयवासी यामबहादुर पुनले बताए ।

उनका अनुसार बस्तीको तलदेखि माथिसम्म धाँजा फाटेकाले पूरै गाउँ जोखिममा परेको छ । अन्य ठाउँमा जग्गा जमिन र गोठ नभएकाले घरनजिकै पहिरो आइपुगे पनि जोखिम मोलेर बसेको स्थानीयवासी साउनी ल्वागनले बताइन् । उनको जग्गा जमिन पहिरोले लगिसकेको छ । सुरक्षित ठाउँमा जग्गा जमिन नभएकाले ल्वागनसहित तीन परिवार जोखिम मोलेरै पहिरोले भत्काउन लागेको घरमा बसेका छन् ।

ओखरबोटका पहिरोपीडितलाई टहरा बनाएर अस्थायी बसोबासका लागि जिल्ला विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीले एक-एक थान पाल उपलब्ध गराइसकेको छ । बस्तीको बीचमा खनिएको सडकको भल र मूलको पानी व्यवस्थापन गर्न नसक्दा गएको ओखरबोटको पहिरो नियन्त्रण गर्न जिल्ला भूसंरक्षण कार्यालय लगायतका निकायले पहल गरे पनि सफल हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण