गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारमोरङ प्रहरी रेडियो प्रणालीसहितको नयाँ भवनमा

मोरङ प्रहरी रेडियो प्रणालीसहितको नयाँ भवनमा

February 19, 2016१७७ पटक

विराटनगर, ७ फागुन मोरङ प्रहरी डिजिटल मोबाइल रेडियो प्रणालीसहितको सुविधासम्पन्न भवनमा सरेको छ । राजधानीबाहिर प्रहरीको यो पहिलो सुविधासम्पन्न भवन हो । विराटनगर– १ पोखरियामा ६ करोड तीन लाख लगानीमा भवन निर्माण भएको हो । भवन निर्माणका लागि तीन करोड ७५ लाख रुपैयाँमा एक बिघा चार कट्ठा तीन धुर जग्गा किनिएको मोरङ प्रहरीले जनाएको छ । भवनको आइजिपी उपेन्द्रकान्त अर्यालले बिहीबार उद्घाटन गरे । भवन उद्घाटन गर्दै आइजिपी अर्यालले प्रहरीले आफ्नो सेवा नागरिक–मैत्री बनाए मात्र नयाँ भवनको सेवा सार्थक हुने बताए । उनले जनमुखी सेवालाई साध्य मानेर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन गरे । अर्यालले भने, ‘भवन नयाँ भएर मात्र हुँदैन काम गर्ने सोच–शैली पनि नयाँ हुनुपर्छ ।’ नवनिर्मित मोरङ प्रहरीको भवनमा आधुनिक कार्यालय र ब्यारेक भवन, सुविधासम्पन्न हिरासत कक्ष, सिटिटिभी रुम, अनुसन्धान कक्ष, रेडियो प्रविधियुक्त कन्ट्रोल रुम, मेस र अधिकृतहरूको आवास भवनलगायत छन । १९७० सालमा पुरानो सदरमुकाम रंगेलीबाट जिल्ला प्रहरी विराटनगरमा सरेको थियो । ०१२ देखि मोरङमा इन्स्पेक्टरको नेतृत्व सुरु भएको थियो । त्यसपछि क्रमश: डिएसपी हुँदै ०४८ देखि हालसम्म मोरङ प्रहरी एसपीको नेतृत्वमा छ । ०२५ मा निर्माण भएको मोरङ प्रहरीको पुरानो भवन जीर्ण भएको थियो । जीर्ण भवनबाट सेवा प्रदान गर्न गाह्रो भइरहेकाले नयाँ भवन निर्माण गर्नुपरेको एसपी तारणीप्रसाद लम्सालले बताए । पुरानो भवनमा सातवटा कोठा, गार्ड रुम, १० शय्याको जुनियर प्रहरी अधिकृतको आवास र ४४ शय्याको जवानहरूको ब्यारेक थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण