गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचारसेना भन्छ पुनर्निर्माण बापतकाे रकम सरकारले दिएन

सेना भन्छ पुनर्निर्माण बापतकाे रकम सरकारले दिएन

February 20, 2016२६३ पटक

फाल्गुन ८, २०७२= नेपाली सेनाले भूकम्पमा परी भत्किएका आफ्ना भौतिक संरचनाको पुनर्निर्माण गर्न सरकारसित रकम माग गरे पनि नपाएको जनाएको छ ।

भूकम्पबाट भत्किएका आफ्ना ११ सय ९ भौतिक संरचनालाई पुनर्निर्माण गर्न सेनाले सरकारसँग ५ अर्ब रुपैयाँ माग गरेको हो । सेनाले रक्षा मन्त्रालयमार्फत भूकम्पपछिको पुनर्निर्माण गर्न गठित पुनर्निर्माण प्राधिकरणलाई आफ्ना संरचना बनाउन उक्त रकम माग गरेको हो ।
तर पुनर्निर्माण प्राधिकरणले भने सेनाको मागलाई तत्काल पूरा गर्न नसक्ने जनाएको छ । प्राधिकरणले आफूसँग पैसा नभएको र अर्थ मन्त्रालयले नदिएको जनाएको छ । प्राधिकरणका कामु सचिव मधुसूदन अधिकारीले भने, ‘तत्काल दिन सक्ने स्थिति छैन । समय लाग्छ । हामीसँग रकम छैन । अर्थ मन्त्रालयले दिएको छैन ।’

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी ताराबहादुर कार्कीका अनुसार वैशाख १२ को भूकम्पका कारण सेनाको १४ जिल्लाका ११ सय ९ संरचनामा पूर्ण र आंशिक क्षति भएको हो । सेनाको जंगी अड्डा, छाउनी अस्पताल, विभिन्न जिल्लाका बाहिनी, गण, गुल्मका भवनहरू क्षति भएका छन् ।

स्रोतका अनुसार सरकारले भूकम्पपछि गरेको विपतपछिको अध्ययन (पीडीएनए) मा सेनाका संरचनाको क्षति र यसलाई पुनर्निर्माण गर्न लाग्ने कुरालाई नसमेटिएका कारण समस्या आएको हो । ‘राष्ट्रिय योजना आयोगबाट यसअघि नै पुनर्निर्माणका लागि बजेटको सिलिङ र कार्यक्रम पास भइसकेका छन्,’ स्रोतले भन्यो, ‘पुनर्निर्माण प्राधिकरणलाई पहिले नै बनेका कार्यक्रम बाहेकमा अर्थ मन्त्रालयले रकम निकासा गर्दैन ।’

रक्षा मन्त्रालयका सहसचिव शिवप्रसाद सिंखडाले सेनाले पुनर्निर्माण गर्नलाई आवश्यक रकम योजनासहित माग गरिसकेको जानकारी दिए । उनले भने, ‘सेनाको मागलाई हामीले पुनर्निर्माण प्राधिकरणमा पठाइसकेका छौं । तर प्राधिकरणले हालसम्म पैसा छैन भन्दै आइरहेको छ ।’

पुनर्निर्माण प्राधिकरणका कामु सचिव अधिकारीले सेनालाई रकम निकासा गर्न अझै केही समय लाग्ने बताए । उनले भने, ‘अर्थ मन्त्रालयबाट रकम निकासा भएपछि हामी उनीहरूलाई दिनेछौं । तर हामी पनि भर्खरै गृहकार्यमा लागिरहेका छौं । सबै कुराको गृहकार्य पूरा गरेपछि सेनालाई रकम निकासा हुन्छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण