धर्मबाट अलग रहने स्वतन्त्रता हटाइयो
२४ साउन, काठमाडौं । नेपाली नागरिकहरुलाई अब कुनै धर्मबाट स्वतन्त्र रहने अधिकार नरहने भएको छ ।
शनिबार प्रमुख दलहरुबीच भएको सहमतिअनुसार संविधानको पहिलो मस्यौदामा रहेको ‘कुनै धर्मबाट अलग रहने’ भन्ने शब्द हटाइएको छ ।
यसअघि संविधानको मस्यौदामा मौलिक हक अन्तर्गत धारा ३१ को उपधारा १ मा ‘प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने तथा कुनै धर्मबाट अलग रहने स्वतन्त्रता हुनेछ’ भन्ने वाक्यांश थियो ।
यसअनुसार कुनै पनि धर्म नमान्ने स्वतन्त्रता नेपाली नागरिकहरुलाई थियो ।
धर्मबारे सहमति हुन बाँकी
दलहरुवीच धर्म निरपेक्ष वा धार्मिक स्वतन्त्रताको विषयमा भने अझै सहमति भइसकेको छैन । अन्तरिम संविधानमा धार्मिक स्वतन्त्रताको अधिकार राखिँदा लोभलालच र जबर्जस्ती धर्म परिवर्तन गराइएको भन्दै विरोध हुँदै आएको थियो ।
हिन्दु धर्मका समर्थकहरुले पश्चिमा देशहरुको दबावमा धार्मिक स्वतन्त्रताको व्यवस्था दलहरुले राखेको र त्यसबाट हिन्दु धर्म समाप्त पारेर क्रिश्चियन धर्मलाई बढावा दिइएको भन्दै आलोचना गर्दै आएका थिए ।
शनिबार रातिको सहमतिमा धर्म निरपेक्षताबारे भने कुनै उल्लेख छैन । धर्म निरपेक्षता वा स्वतन्त्रतामा मस्यौदा मौन छ ।