क्षतिपुर्तिको माग गर्दै आफन्तद्वारा पोखरा–बागलुङ राजमार्ग अबरुद्व
पर्वतको कुश्मा नगरपालिका–१ सहस्रघारा स्थित पोखरा–बागलुङ सडकमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
कुश्मादेखि बागलुङतर्फ आँदै गरेको ग१ख ४०९० नम्वरको बस र बागलुङदेखि पर्वत तर्फ जाँदै गरेको ध १ प ३१७९ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाईकल चालक बागलुङ नगरपालिका–८ का ४० वर्षिय चन्द्रप्रसाद शर्मा पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।
मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ ।
मोटरसाईकलमा सवार पैयु थन्थाप ९ की २६ वर्षिया दुर्गा मल्लको अवस्था गम्भीर रहेको छ । उनको अञ्चल अस्पताल बागलुङमा उपचार हुन नसकि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बस र बसका चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
यसैबिच, पौडेलका आफन्तले क्षतिपूर्तिको माग गर्दै बागलुङ पोखरा सडक खण्ड अबरुद्ध गरेका छन् । ज्यान गुमाएका शर्माको परिवारलाई क्षतीपूर्ति दिनुपर्ने र घाइतेको उपचार गर्नुपर्ने भन्दै आफन्तले सडकमा ठूलाठूला ढुंगा र मुडा राखेर सडक अबरुद्ध गरेका हुन् ।
बागलुङ पोखरा सडकखण्ड अबरुद्ध भएपछि जिल्ला भित्र र बाहिर चल्ने लामो तथा छोटो दुरिका सवारी साधन सोही स्थानमा ठप्प छन ।