चितवनमा पद्मोदय अन्तराष्ट्रिय पुरुष भलिबल सुरु भएसँगै आर्थिक गतिविधि पनि बढयो
शिव शर्मा
चितवन, फागुन २४ । चितवन यस्तो जिल्ला हो, जहाँ हरेक क्षेत्रमा अग्रणी भुमिका निर्वाह गरिरहेको छ । यस्तैमा पछिल्लो समय चितवन खेलकुदमा पनि अग्रणी जिल्लाको रुपमा परिचित हुँदै गईरहेको छ ।
यहाँ हालसम्म राष्ट्रिय प्रतियोगिता मात्रै भएको इतिहासमा यहाँ अब अन्तराष्ट्रिय प्रतियोगिता समेत सुरु भएको छ । विगत ३७ वर्षदेखि स्थानीय स्तरबाट भलिबल प्रतियोगितालगायत विविध कार्यगर्दै आईरहेको पद्मोदय युवा क्लव भरतपुर–२७ दमपोखरीले अबदेखि अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता सुरु गरेको हो । महाशिवरात्री पर्वको पावन अवसरमा आईतबारबाट चितवनको पदमपोखरीमा पद्मोदय अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२ सुरु भएको छ। यस प्रतियोगिताले जिल्लामा खेलकुद गतिविधि मात्रै बढाएको छैन् यसले आर्थिक गतिविधि समेत बढाएको छ ।
राष्ट्रिय खेलकुदका लागि सर्वव्यापी एउटा नारा छ, ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ । खेलले व्यक्तिलाई स्वस्थ राख्छ । खेलले नै राष्ट्रको पहिचान समेत उँचो बनाउँछ । खेलले दिने पहिचान अरु कयौं कीर्तिले दिने पहिचानभन्दा धेरै अग्लो हुन्छ । खेलले भौगोलिक सीमाना पनि हिसाब गर्दैन । संसारको एउटा कुनामा भएको खेलको जानकारी अर्को कुनामा तुरुन्तै हुन्छ । खेलसँगै ठाउँको पहिचान पनि बढ्छ । त्यही भएर नै जुनसुकै ठूला खेल आयोजना गर्न विश्वभरै तछाडमछाड हुने गर्छ । यसले ठाउँ विशेषको विकास तथा अर्थतन्त्र बलियो बनाउन पनि सहयोग गर्छ । प्छिल्लो समय यही पहिचान बनाउनका लागि दौडमा भरतपुरको एउटा कुना पटिहानीका युवाहरु अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा जुटेका हुन् ।
हुन त यो प्रतियोगिताका इतिहास झण्डै ४ दशकको छ । तर पनि यो स्तरको प्रतियोगिता पहिलोपटक आयोजना गरिएकाले पनि यहाँ बेग्लै उत्साह छाएको छ । २०३६ सालमा स्थानीयले शिवरात्रिको छेकोमा स्थानीय युवा बटुलेर भलिबल खेलको सुरुवात गरेका थिए । पछि विस्तारै त्यसलाई त्यही प्रतियोगितालाई यही अवसरमा वर्सेनि गरिदै आईयो । पछि क्षेत्रीयस्तरको बनाइयो । गतवर्ष राष्ट्रियस्तरमै बढुवा गरियो अहिले अन्तर्राष्ट्रियकरण हुन पुग्यो । यस प्रतियोगिता आयोजना गर्न कुल २६ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ
।