ज्योतिले दिइन् बाबुलाई दागबत्ती
नेपाली समाजमा छोराले मात्रै दागबत्ती दिने चलनलाई ललितपुर उपमहानगरपालिका ४ धोविघाटकी ज्योति बस्नेतले बाबुको दागबत्ती दिएर चुनौती दिएकी छन्। उनले आफ्ना ८० वर्षीय पिता भीमबहादुर बस्नेतको बिहीबार हिन्दु परम्परा अनुसार काजकिरीया समेत बसेर चुनौती दिएकी हुन्।
उनी श्रीमानको घर त्रिदेवीनगर, कोटेश्वरमा आफैँ बाबुको काजकिरीयामा बसेकी छन्। ज्योतिका ८० वर्षीय बाबु भिमबहादुर बस्नेतको बुधबार राति ११ बजे मिनभवनस्थित निजामति कर्मचारी अस्पतालमा उपचार गराउने निधन भएको थियो। उनको पिता लामो समयदेखि निमोनिया र पार्किन्सन रोगका बिरामी थिए।
बागमती किनारमा रहेको विद्युत्तीय शवदाह गृहमा ज्योतिले मृतक बुबालाई मुखाग्नी दिनुअघि हिन्दुधर्म परम्परा अनुसार एउटा छोराले गर्नुपर्ने सम्पूर्ण पक्रिया आफैं पुरा गरेकी थिइन्। उनका बुबा लामो समयदेखि उनीसँगै बस्दै आएका थिए।
छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्न मात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको उनले बताइन्।
आफ्नो मृतक बुबाको काजकिरीयाको लागि ज्योति बस्नेतका पति, छोरा सजिवजङ्ग वन र तिम्ल्याहा छोरीहरु श्रद्धा, श्रेया र सृष्टिले पनि सहयोग गरे।
अन्तिम संस्कारमा सहभागी भएका नेपाली राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले समाजमा छोराकै पछि लाग्नेहरुका लागि यो गतिलो जवाफ भएको बताए। उनले छोरीहरु पनि छोरा सहर समाजका अभिन्न अङ्ग भएको सन्देश दिएको बताए।
अन्नपुर्ण पोष्टबाट