गृहपृष्ठ » अन्तर्राष्ट्रिय, अार्थिक, कृषि, मनोरञ्जन, मुख्य समाचार, समचार, स्वास्थ्यमुस्ताङमा ४४ प्रतिशतले पर्यटकको आवागमन घट्यो

मुस्ताङमा ४४ प्रतिशतले पर्यटकको आवागमन घट्यो

March 26, 2016६१९ पटक

प्रताप बानियाँ
म्याग्दी, चैत १३ गते । हिमालपारीको जिल्ला मुस्ताङमा सन् २०१४ को तुलनामा २०१५ मा पर्यटकको आवागमन ह्वात्तै घटेको छ । गएको वैशाख महिनामा आएको विनाशकारी भूकम्प, त्यसपछिको पराकम्पन, वर्षात्को समय, तराई–मधेशको आन्दोलन, भारतीय नाकाबन्दी र देशको संक्रमणकालीन अवस्थाका कारणले गर्दा पर्यटक आवागमन झण्डै ४४ प्रतिशतले घटेको हो ।
सन् २०१४ मा मुस्ताङमा विभिन्न देशका गरी कुल ४१ हजार २१९ जनाले भ्रमण गरेका थिएभने गएको वर्ष सन् २०१५ मा जम्मा २३ हजार २७२ जनाले मात्रै मुस्ताङको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङले जनाएको छ । अघिल्लो वर्ष र गत वर्षको तुलना गर्दा १७ हजार ९४७ अर्थात् ४३ दशमलव ५४ प्रतिशितले पर्यटक आवागमन घटेको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले बताउनुभयो ।
सन् २०१५ मा सबैभन्दा बढी अप्रिलमा ६ हजार २३४ र सबभन्दा कम जनवरीमा २२७ जना पर्यटक मुस्ताङ भित्रिएको उहाँले जानकारी दिनुभएको छ । मुस्ताङमा गतवर्ष ईन्डियन ८ हजार ४५९ र अन्य देशका १४ हजार ८१३ पर्यटकले मुस्ताङको भ्रमण गरेको पर्यटक जाँचपास सूचना केन्द्र कागबेनी मुस्ताङले जानकारी दिएको छ । २०१४ मा ईन्डियन १८ हजार ९९ र अन्य २३ हजार १२० जना पर्यटक मुस्ताङ पुगेका थिए ।
मुस्ताङ्मा पर्यटक आवागमन कम हुनुमा मुख्य कारण विनाशकारी भूकम्पलाई मानिएको छ । त्योसँगै तराई–मधेशमा भएको आन्दोलन, भारतीय नाकाबन्दी, नेपाल बन्द, सहज यातायात नहुँनु र इन्धन अभावले केही समय पर्यटक आवागमन शुन्यजस्तै भएको मुस्ताङका पर्यटन व्यवसायीहरुले अनुमान गरेका छन् ।
मुस्ताङमा राउण्ड अन्नपूर्ण पदमार्ग, कास्कीको घान्द्रुक हुँदै म्याग्दीको घोरेपानी र मनाङको थोरङ्लापास क्षेत्र भएर पर्यटकहरु आवतजावत गर्दछन् । फ्रान्स, जर्मनी, स्वीटरल्याण्ड, ईटाली, युके, युएस, बेल्जियम, बुल्गेरिया, अस्टे«लिया, जापान, पाकिस्तान, पेरु र ईक्वेडरलगायतका देशबाट पर्यटकहरु मुस्ताङ पुग्ने गरेका छन् । खासगरी विदेशी पर्यटकहरु पोखरा–जोमसोम हवाईमार्ग, घान्द्रुक–घोरेपानी, म्याग्दीको सदरमुकाम बेनी र मुस्ताङ तथा मनाङको सीमाक्षेत्र थोरङलापासबाट पर्यटकहरु आउने जाने गरेका छन् । त्यसैगरी साईकलबाट यात्रा गर्ने पर्यटकहरु समेत आउने गरेको बताइएको छ ।
यसैबीच पछिल्लो समयमा भने नेपालीहरुको ठूला पर्व दशैंतिहार र अन्य समयमा विदा मनाउन आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्ने गरेको त्यहाँका होटल व्यवसायीहरु बताउँछन् । नेपालको काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवालगायतका ठूला शहरबाट दैनिक झण्डै २ सयको हाराहारीमा आन्तरिक पर्यटकहरु मुस्ताङ पुग्ने गरेको होटल व्यवसायी खगेन्द्र तुलाचनले जानकारी दिनुभयो ।
मुस्ताङमा स्याउको राजधानी मार्फा, धुम्बाताल, प्रसिद्ध मुक्तिनाथ मन्दिर, दामोदरकुण्ड, मुस्ताङ–मनाङबीच सिमानाको तिलिचो ताल, छोसेरका गुफाहरु हेर्न पर्यटकहरु मुस्ताङ पुग्छन् । यसैगरी लोन्ली प्लानेटको सर्वेक्षणअनुसार संसारको उत्कृष्ट तेस्रो गन्तव्यस्थल लोमान्थाङ, वालसिटी, राजदरबार, मुस्ताङ–तिब्बत बोर्डर, गर्फू, झोङ, छोडी र थुक्छेड गुम्बा तथा हिमाललगायत पर्यटकीय क्षेत्रको अवलोकन गरी मनोरञ्जन लिन पर्यटकहरु आउने गरेको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण