प्रधानमन्त्री ओली आठ दिने चीन भ्रमण सकेर स्वदेश फर्किए, चीन भ्रमणले आर्थिक विकासको खाका तयार पारेको भनाई
काठमाडौं, चैत १४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले देशको आर्थिक विकासको दीर्घकालिन खाका तयार पारेको दावी गर्नुभएको छ ।
आठ दिने चीन भ्रमण सकेर स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारसित चीनसित भको पारवहन सम्झौता भ्रमणको ठूलो उपलब्धी भएको दावी गर्नुभयो ।
आफ्नो भ्रमणले दुई देशबिचको राजनीतिक र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाएको ओलीले बताउनुभयो । नेपालको चीन र भारत दुवै छिमेकीसँगको सम्बन्धका आ(आफ्नै महत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले दुई छिमेकीसँगको सम्बन्ध तुलना गर्न नसकिने बताउनुभयो ।
ओलीसँगै स्वदेश फर्केका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापाले चीनसँग भएको पारवहन सम्झौता कार्यान्वयनमा आउने दावी गर्नुभयो । यसमा देखिएका जटिलतालाई हटाएर कार्यान्वयन गर्न दुवै देशले थप छलफल गर्ने थापाको भनाई छ ।
प्रधानमन्त्री सहितको टोलीले चीनको बेइजिङका साथै हैनान, सेन्या, सियान र छेन्दुको भ्रमण गरेको हो । प्रधानमन्त्रीसहितको टोलीले भूकम्पको केन्द्रबिन्दुस्थित सङ्ग्रहालयमा रहेका भूकम्पको विनाशसम्बन्धी विवरण, उद्धार र पुनःनिर्माणसम्बन्धी जानकारी लिएको थियो । चीनमा रहँदा प्रधानमन्त्रीले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणका क्रममा नेपाल र चीनबिच पारवहन लगायत १० बुँदे सम्झौता भएको छ ।
उज्यालोबाट