गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, राजनीतिसैद्धान्तिक छलफलबाट एकता प्रक्रियामा जाने भन्नेमा वैद्य र थापा समूहबीच मतभेद

सैद्धान्तिक छलफलबाट एकता प्रक्रियामा जाने भन्नेमा वैद्य र थापा समूहबीच मतभेद

March 28, 2016१२१ पटक

चैत्र १५ गते । एमाओवादीसँग एकताको विषयलाई लिएर क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा नेतृत्वका दुई धार देखा परेको छ । दुवैले एकताको अनिवार्यतालाई जोड दिएका छन् । तर तत्कालै एकता गरिहाल्ने कि केही समयपछि सैद्धान्तिक छलफलबाट एकता प्रक्रियामा जाने भन्नेमा वैद्य र थापा समूहबीच मतभेद देखिएको छ । वैद्य सैद्धान्तिक विषयको टुंगो लगाएर एकता गर्नुपर्ने पक्षमा छन् भने थापा तत्काल एकता गरिहाल्नुपर्ने अडानमा छन् ।

केन्द्रीय समितिको जारी बैठकमा वैद्य र थापाले छुट्टाछुट्टै प्रस्ताव पेस गरेका छन् । दुई दिनदेखि तिनै प्रस्तावमा केन्द्रित रहेर सदस्यहरूले विचार प्रकट गरिरहेका छन् । वैद्यले नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाली समाजको चरित्र अर्धसामन्ती नै रहेको व्याख्या गर्दै यी विषयमा सैद्धान्तिक रूपमा टुंगोमा पुगेर एकता गर्नुपर्नेमा जोड दिएका छन् । नेता सीपी गजुरेल लगायतका नेताहरूले वैद्यको धारणालाई समर्थन गरेका छन् ।

महासचिव थापाले भने समाजको अर्धसामन्ती चरित्र परिवर्तन भइसकेकाले नयाँ जनवादी क्रान्ति नभनीकन अन्य मोडलबाट आन्दोलनलाई अघि बढाउन सकिने विचार अघि सारेका छन् । माओवादी आन्दोलनलाई छिटो एकत्रित गर्नुपर्ने भएकाले त्यो उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । देव गुरुङ लगायतका नेताहरूले थापाको पक्ष लिएका छन् । शनिबार र आइतबार बोल्ने नेताहरूले वैद्य र थापाले अघि सारेका विषयमा विभाजित भएर मत प्रकट गरिरहेका छन् ।

‘पार्टी एकताको आवश्यकता छ भन्नेमा सबैको मत मिल्छ,’ केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भने, ‘कसरी गर्ने भन्ने आधारहरू बैठकबाट तय हुन्छन् ।’ झन्डै सात दिनसम्म चल्ने बैठकमा अध्यक्ष वैद्यले पेस गरेको प्रस्तावमाथि थापाले पूरक प्रस्ताव भन्दै पेस गरेका थिए । अर्का नेता कुलप्रसाद केसी र केन्द्रीय सदस्य न्यौपानेले पनि बैठकमा छलफलका लागि भन्दै आफ्ना लिखित प्रस्ताव अघि सारेका छन् । केसीले जनयुद्ध लडेका शक्तिबीच छिटो एकता हुनुपर्नेमा जोड दिएका छन् । न्यौपानले नयाँ पुस्तालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने र त्यसअनुसारका कार्यनीति कार्यदिशा तय गर्नुपर्ने धारणा अघि सारेका छन् ।

पार्टीभित्र विवाद भएपछि झन्डै चार वर्षअघि एमाओवादी टुक्रिएको थियो । वैद्य नेतृत्वको समूहले छुट्टै पार्टी गठन गरेको थियो । संविधानसभाको चुनावसमेत बहिष्कार गरेपछि वैद्य नेतृत्वको माओवादी नयाँ आन्दोलनमा पनि जान सकेन, बरु राजनीतिक मूलधारको राजनीतिमा प्रभावहीन बन्दै गयो ।

यही बीचमा नेत्रविक्रम चन्दको नेतृत्वमा एउटा समूह अलग्गिइसकेपछि पुनस् मूलधारमै फर्किर्नुपर्ने बहस क्रान्तिकारी माओवादीमा भित्रिएको हो । एकताका लागि वैद्यले पटकपटक एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अनौपचारिक छलफल गरेका छन् । जारी केन्द्रीय समिति बैठकले तय गर्ने धारणाको आधारमा एकता प्रक्रियाको ठोस खाका बाहिर आउने नेताहरूले बताएका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण