गृहपृष्ठ » मुख्य समाचार, शिक्षा, समचार, स्वास्थ्यतलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकीका जलचर सङ्कटमा

तलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकीका जलचर सङ्कटमा

March 28, 2016१६३ पटक

म्याग्दी, चैत १५ गते । म्याग्दीको नारच्याङस्थित घलेम्दी खोलाको मुहानमा पहिरोले बनाएको तलाउ खुलेर लेदो बग्न थालेपछि कालीगण्डकी नदीका जलचर सङ्कटमा परेका छन् ।
कालीगण्डकीको सहायक नदी घलेम्दीबाट शुक्रबारदेखि बग्न थालेको बाक्लो लेदोले माछालगायतका जलचर मर्न थालेका हुन् ।  लेदोका कारण घलेम्दी मिसिने मिस्त्री र कालीगण्डकीको नारच्याङस्थित दोभानदेखि राहुघाटसम्मको तटीय क्षेत्रमा थुपै्र मरेका माछा भेटिएका छन् ।  लेदोले गर्दा माछाले वासस्थान छाडेर किनारमा लागेको र आहाराको अभावमा मर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् । बैसरीका बासिन्दा भीमबहादुर कार्कीले २६ वर्षयता कालीगण्डकी किनारमा यसपालि सबैभन्दा धेरै माछा मरेको देखेको बताउनुभयो ।

beniउहाँका अनुसार विसं २०४६ मा कालीगण्डकीमा लेदोसहितको बाढी आउँदा पनि यसरी नै नदी किनारमा मरेका माछा भेटिएका थिए ।  शुक्रबार साँझ बाक्लो लेदोसहितको बाढी बग्दा कालीगण्डकीको सतह करिब दुई घन्टा बढेको थियो । सो समयमा छेउ लागेका माछा मरेको अवस्थामा भेटिएको र अहिले पनि लेदो बगिरहेकाले छेउछाउमा माछा मार्न जानेले सजिलै भेटाउने गरेका छन् । एक किलोग्राम तौल भएको एउटै माछा भेटाएको बैसरीका भीमसेन केसीले बताउनुभयो ।  कालीगण्डकीमा लेदो आएपछि शनिबार र आइतबार माछा छोप्नेको किनारमा दिनभरजसो भीड लागेको थियो । एकै जनाले ६५ किलोसम्म माछा छोपेर डोकोमा बोकेर लगेको घार–९ पोखरेबगरका खड्ग गिरीले बताउनुभयो ।

धेरै माछा भेटिएकाले पहिले रु ९०० प्रतिकिलो पर्ने माछा अहिले मूल्य रु ५०० मा झरेको छ । जिल्ला कृषि विकास कार्यालय म्याग्दीका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले लेदोका कारणले गर्दा बीचमा बस्न नसकेर छेउ लागेको र त्यो अवस्थामा एक्कासि पानीको सतह घट्नाले अथवा कसैले विष हालेको कारण नदी किनारमा यसरी माछा मरेको हुनसक्ने बताउनु भयो । मरेको अवस्थामा भेटिएका माछा खानु स्वास्थ्यका हिसाबले उपयुक्त नहुने उहाँको सुझाव छ ।  माछासँगै लेदोले पानीमा बस्ने अन्य जलचर पनि प्रभावित भएका छन् । नदी किनार दुर्गन्धित बनेको छ । यसले वातावरण चक्रमा पनि असर पार्नसक्ने खतरा रहेको छ ।

मानवबस्तीदेखि टाढा र भौगोलिक रुपमा विकट खोचमा खसेको पहिरोको अवस्थाको अहिलेसम्म अध्ययन हुन नसकेको नारच्याङ गाविसका सचिव दीर्घप्रसाद गौतमले बताउनुभयो । रासस

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण