मधेस आन्दोलनका मागलार्इ सहमतिबाटै टुंग्याउनुपर्छ भट्टराई
चैत्र १७ गते । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस आन्दोलनको मागलाई सहमतिबाट टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका छन्।
बाँकेको नेपालगन्जमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले भने, संविधान निर्माणपछि नेपाल नयाँ युगमा प्रवेश गरेको छ, अब हामी सबै मिलेर समृद्धि र आर्थिक विकासको बाटोमा अग्रसर हुनुपर्छ। पुरानो राजनीतिक चिन्तनबाट मुलुक र जनताको हित हुन नसक्ने धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ शक्ति, नयाँ सोच र नयाँ जाँगरबाट मात्र स्थिर राजनीतिक र सामाजिक विकास सम्भव हुन सक्ने बताए।
पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले आफ्नो स्वाभामिन गुम्न नदिएर नेपालले भारत र चीनसँग सन्तुलित सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै ती दुवै देशको आर्थिक समृद्धिबाट नेपालले पनि फाइदा लिन सक्नुपर्ने बताए।
संविधानको विकल्प अर्को संविधान हुन नसक्ने स्पष्ट पार्दै नयाँ शक्ति नेपालका संयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले विवादित विषय यही संविधानलाई संशोधन गरेर समाधान गर्नुपर्ने बताए।
उनले १९९७ देखि २०७२ सम्मको अवधी सङ्घर्षको भएको भन्दै त्यसमा प्रजा परिषद, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी जस्ता पुराना राजनीतिक शक्तिको योगदान रहेको बताएका छन । अब आर्थिक समृद्धि र विकासको युग सुरु भएको बताउँदै उनले पुराना शक्तिले नेतृत्व गर्न नसक्ने भएका कारण नयाँ वैकल्पिक धारको रुपमा नयाँ शक्ति स्थापना भएको दावी गरे। रासस