मलामी जान थाले अछामका महिला
बिहीवार 25 चैत, 2072
अछाम, चैत २५ । पुरानो संस्कारलाई तोड्दै अछामका महिला मलामी जान थालेका छन् । पुरानो संस्कारलाई तोड्दै अछामको पूर्वी क्षेत्रका महिला मलामी गएका हुन् ।
मानिसको मृत्यु भएपछि पुरुषले मात्र मलामी जाने प्रचलन रहेको अछाममा पछिल्लो समयमा महिला मलामी जान थालेका हुन् । जिल्लाको ग्रामीण क्षेत्र कुइका–४ का गौरीकान्त तिमिल्सिनाको ७० वर्षको उमेरमा मृत्यु हुँदा सोही गाविस–४ का महिला मलामी गएका हुन् ।
‘हामीलाई मलामी जानबाट वञ्चित गराउने पुरानो परम्परालाई हामीले तोडेका छौं, हामी मलामी गएर फर्कियौँ,’ स्थानीय गोमा तिमिल्सिनाले भनिन् ।
मानिसको मृत्यु हुँदा दाहसंस्कार गर्न छोरा अर्थात् पुरुषमात्र जाने प्रचलन रहिआएको समाजमा महिला मलामी जानुलाई समयअनुसारको परिवर्तनका रुपमा हेरिएको छ । (रासस)