गृहपृष्ठ » शिक्षामधुमेह रोगका कारण हरेक वर्ष विश्वमा ३७ लाखको मृत्यु

मधुमेह रोगका कारण हरेक वर्ष विश्वमा ३७ लाखको मृत्यु

April 7, 2016९३ पटक

चैत २५ – विश्वमा मधुमेह रोगका बिरामी बढ्दै गएको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । संगठनका अनुसार झण्डै ११ जनामध्ये एकजना वयस्कलाई मधुमेह हुने गरेको पाइएको छ ।  डब्लुएचओको मुख्य प्रतिवेदनका अनुसार विश्वभर मधुमेहका विरामी बढेर सन् २०१४ मा आइपुग्दा ४२ करोड २० लाख पुगेको छ ।

यस अघि सन् १९८० मा झण्डै ११ करोड मानिसलाई मधुमेह रोग लागेको थियो । हरेक वर्ष विश्वमा ३७ लाख जनाको ज्यान जानुको कारण रगतमा चिनीको मात्रा उच्च हुनु मानिएको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ । अधिकारीहरुले मधुमेह रोग विरुद्ध तत्काल कडा कदम नउठाए समस्या अझै बढ्दै जाने औँल्याएका छन् । मधुमेह रोगको समस्या बढ्दै जानुमा अव्यवस्थित जीवनशैलीलाई मुख्य मानिएको छ । विश्वमा तीन जनामध्ये एकजनाको तौल औसतभन्दा धेरै भएको र यसले गर्दा रोगीको संख्या पनि बढेको संगठनको भनाई छ ।

रगतमा चिनीको मात्रा नियन्त्रण गर्न नसके स्वास्थ्यमा ठूलो असर पर्ने र यसले हृदयघातको सम्भावना तीन गुणा बढाउने तथा खुट्टा काट्नुपर्ने खतरा २० गुणाले बढ्ने प्रतिवेदनमा उल्लेख छ । साथै पक्षघात, मिर्गौला रोग, अन्धोपना र गर्भवती भएको समयमा पनि स्वास्थ्य समस्या बढ्ने सम्भावना धेरै हुन्छ । मधुमेहका कारण हरेक वर्ष १५ लाख जनाको ज्यान ज्यान जाने गरेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पहिले पहिले सुविधा सम्पन्न देशमा देखिने यो रोग अहिले अल्प विकसित र विकासोन्मुख देशमा बढ्दै गएको छ । सन्तुलित खानपान र नियमित व्यायाम गरी रक्तचापलाई सन्तुलनमा राखे मधुमेह रोग लाग्न नपाउने डाक्टरले बताएका छन् ।

– एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण