१५ लाख सापटी तिर्न नसक्दा महराको हत्या, हत्यामा संलग्न डाँगी सार्बजनिक
- हत्यामा प्रयोग भएको गाडी सार्बजनिक गर्दै दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्मा
२५ चैत, घोराही । बस ब्यवसायी विष्णु महराको हत्यामा संलग्न एकजनालाई जिल्ला प्रहरी कार्यालय दाङले बिहीबार सार्बजनिक गरेको छ । सौडियार गाविस ३ बस्ने हिमाल भन्ने खिमबहादुर डाँगी र उनले प्रयोग गरेको बा ९ च २९३ नम्बरको टोयोटा हाइलक्स गाडी प्रहरीले सार्वजनिक गरेको हो ।
डाँगी मालीका-कालीका बस व्यवसायी समिति घोराहीका बुकिङ काउण्टर इन्चार्ज हुन् । उनले महरासंग लिएको १५ लाख रुपैयाँ तिर्नु पर्ने भएपछि हत्या गरेको अनुसन्धानबाट खुलेको दाङका निमित्त प्रहरी प्रमुख प्रकाश शर्माले जानकारी दिए ।
आरोपी डाँगीले लमही सामान पुर्याउनु छ भन्दै एक घण्टाको लागि मात्रै भनेर घोराही ११ निवासि पदम शर्मासँग उक्त गाडी मागेर लगेका थिए । भोलिपल्ट विहान साढे आठ बजे डाँगीले शर्मालाई गाडी फिर्ता गरेका थिए ।
रोल्पाको जेलवाङ गाविस १ घर भई हाल घोराही नगरपालिका ६ रझेना निवासी करिब ३८ वर्षीय विष्णुबहादुर महराको शव चैत १६ गते बिहान घोराही नगरपालीका ४ चौघेरा नजिकै डबरी भन्ने स्थानमा फेला परेको थियो । मृतकको टाउको र शरिरमा गाडीको पांग्राको दाग थियो ।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्न एक सय बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । घटना घटेको २४ घण्टा भित्र हत्या आरोपी डाँगी र ४८ घण्टा भित्र गाडीलाई नियन्त्रणमा लिन सफल भएको दाङका निमित्त प्रहरी प्रमुख शर्माले बताए ।
प्रहरीले डाँगीमाथि कर्तव्य ज्यान सम्बन्धि मुद्दा चलाएको छ । उनी विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । गाडि धनी शर्मालाई भने प्रहरीले तारेखमा छाडेको छ ।
मलको खाल्डोमा डुबेर बालकको मृत्यु
यसैबीच गोबर ग्यासको खाल्डोमा डुबेर दाङमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको सिसहनिया गाविस- ६ पिपरा निबासी बिना चौधरीका ४ बर्षका छोरा असिम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
– निशानदाजु भट्टराईबाट