राजतन्त्र र हिन्दु राष्ट्रको माग लिएर चुनावमा जान्छौँ: कमल थापा
शनिबार, चैत्र २७, २०७२
उपप्रधानमन्त्री एंव परराष्ट्रमन्त्री कमल थापाले ‘जनताको विश्वास भए’ संवैधानिक रुपमै राजतन्त्र फिर्ता हुने बताएका छन् । शनिबार दाङमा आयोजित साक्षात्कारमा थापाले जनताको विश्वास भए संविधानमा हिन्दू राज्य र राजतन्त्र लेख्न सकिने बताए ।
थापाले भने ‘के सम्भव छ भनेर हामी यो मागमा अडेका होइनौँ, के आवश्यकता हो भन्ने कुराले हामी राजतन्त्र र हिन्दू राज्य मागेका हौँ ।’ उनले आगामी चुनावमा राप्रपाले त्यो मुद्दामा जित हासिल गर्ने दाबी पनि गरे । थापाले भने ‘यो संविधानमै भएको व्यवस्था हो ।’
उनले कुनै पनि व्यवस्था परिवर्तन गर्नका लागि अब फेरि पहिलाको जस्तै आन्दोलन नै गर्नुनपर्ने पनि बताए । ‘संविधानकै माध्यमबाट आफ्ना मान्यता स्थापित गराउन सकिन्छ’ उनले भने ‘अब आफ्ना माग पूरा गराउनका लागि बन्दूक बोकेर जंगल पनि जानु पर्दैन, सिमामा बसेर नाकाबन्दी पनि गर्नुपर्दैन ।’