गृहपृष्ठ » बिचार/ब्लगमैना सुनार प्रकरण: के अदालतले ले बिगतको नजिर तोड्ला ?

मैना सुनार प्रकरण: के अदालतले ले बिगतको नजिर तोड्ला ?

April 9, 2016२८६ पटक

युवराज पाण्डे

नाम– मैना सुनार

उमेर– १५ वर्ष

माथि उल्लेखित नाम र उमेर हेर्दा अनुमान लगाउन सक्छौ, भर्खरै बढ्दै गरेको उमेर, चञ्चलता, इच्छा, चाहनाहरु एकपछि अर्को गर्दै आउने समय र परिवारको अत्यन्त महत्वपूर्ण सदस्य । यदी, अमेरिका युरोप हुन्थ्यो भने यस प्रकारको घटना कसैले कल्पना गर्न सक्दैन । त्यहाँ त, परिवार र सरकारको प्रत्यक्षसंरक्षणमा अनेकौ सुविधाका साथ हुर्कदै गरेको हुन्छ । एउटा अबोध किशोरी जसलाई न कुनै पार्टीको बारेमा थाहा नै थियो न त राजनीति भनेको के हो भन्ने नै जानकारी थियो । हो, तिनै किशोरी २०६० साल फाल्गुन ५ गते आफ्नो विद्यालयमा गुरुहरुको साथ पढ्दै थिइन । उनै अबोध नाबालिका तत्कालिन मेजर निरन्जन बस्नेत नेतृत्वको टोलिले अपहरण शैलीमा गिरफ्तार ग¥यो । अन्ततः कस्टडीमा अनुसन्धान गर्ने बाहानामा चरम यातना दिदादिदै ‘विभत्स’ हत्या गरियो । हालै, काभ्रे जिल्ला अदालतले बिगत २ बर्ष बाट ‘होल्ड्’ मा राखेको मुद्दालाई जिल्ला अदालत काभ्रेका न्ययाधिश अवानी मैनाली भट्टराईको इजलासले पुनः सो घटनाको बारेमा अनुसन्धान गर्न आदेश दिएपछि नेपाली मिडियाहरुको हेड लाइन बने । साथै, सामाजिक सञ्जालमा समेत चर्चा परिचर्चा चलिरहेकै छ । यस मुद्दामा दोशीलाई कारबाही होला ? यो आगामी समयले बताउने छ नै, तर अदालतले जुन हिसाबले मुद्दा ब्युताएको छ, यो भने अवश्य पनि सराहनीय कार्य मान्नै पर्छ ।IMG_0203

एक जना मेजर, जसले काभ्रेपलान्चोक जिल्लाको पाँचखाल तालिम केन्द्रमा आफ्ना हाकिम महासेनानी बबी खत्रीको आदेशमा मैनालाई गिरफ्तार गरेका थिए । यदि कुनै प्रजातान्त्रिक मुलुक हुन्थ्यो भने १८ वर्ष भन्दा मुनिका बालबालिकाहरु गिरफ्तारमा पर्ने नै थिएनन् । परिहाले पनि गिरफ्तार पर्नाको कारण आफन्त र वकिललाई थाहा हुन्थ्यो । तर, अफसोच, सम्पूर्ण अन्तर्राष्ट्रिय कानुनहरुको उल्लंघन गर्दै नसाले चुर भएको अन्धो मेजरले उसैको हाकिम बबी खत्रीको इसारामा गिरफ्तार ग¥यो । त्यसपछि, हाकिम खत्रीको आदेशमा चरम शारीरिक यातना दिन सुरु ग¥यो । कहिले बाल्टी मा चोबल्दै त कहिले करेन्ट लगाई युद्ध बन्दिलाई भन्दा निकृष्ट यातदा दिइरहे । सैनिक जवान श्रीकृष्ण थापाले घाटीमा समाएर पानीमा चोबल्न थाल्यो । यो क्रम १ मिनेटको अन्तरमा करिब ८ पटक गरिसकेपछी मैना बेहोस् जस्तै बनिन् । त्यसपछी बबी खत्रीले करेन्ट लगाउने आदेश दिए । सायद उनको सन्तानलाई त्यसैगरी तातो पानीमा चोबल्दै करेन्ट लगाएको भए उनी कति पटक भक्कानिन्थे होला ? तर बिडम्बना, उनको कुनै पनि इन्द्रीय त्यता जादै गएन । आतंककारी भएको ‘कबुल’ गराउन उनले मैनामाथि आफ्नो दानवीय दुस्कर्म दोहो¥याई रहे । ती अबोध बालिकालाई यस्तो राक्षसी यातना सहने सामथ्र्य कहाँ हुन्थ्यो र ? सो चरम यातनाको बीच मैनाले यो धर्ती बाट सदाको लागि प्राण त्यागिन ।

अन्ततः मैना सुनारले यो संसार छाडिन, तर मैनाको चिरआत्माले बस्नेत मात्र हैन उनका हाकिम बबी खत्री एबम उनका सहयोगीहरु सुनिल अधिकारी, अमित पुन, खड्ग ब. खत्री अन्य २ जना सैनिक जवान दिलबहादुर बस्नेत र श्रीकृष्ण थापालाई पछ्याई रहेको छ । हालै, अदालतले उनको मुद्दाको विषयमा पुनः छानबिन गर्न आदेश दिएको खबरले यस कुराको पुष्टि गर्दछ । साथै हजारौ सन्तान गुमाएका र अन्यायमा परेका पीडितहरुमा अलिकति भए पनि आशाको त्यान्द्रो भने पलाएको छ ।

नेपाली उखान अनुसार ‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भनेझैँ ठिक १२ बर्षपछि गत एक सातादेखि नेपाली मिडियाहरुमा उक्त हत्या काण्डले चर्चा कमाएको छ । उनको हत्या कर्तुत त्यति बेला मात्र खुल्यो, जति बेला बस्नेत संयुक्त राष्ट्रसंघको शान्ति मिसन ‘चाड’ बाट उनी फिर्ता पठाइए । अन्यथा अझसम्म पनि उनको अपराध ‘गोप्य’ हुन्थ्यो होला । उनलाई अन्य अपराधीलाई झैँ प्रहरीको जिम्मा लगाएर नागरिक अदालतको कठघरामा उभ्याउन सम्पूर्ण विश्व लागिरहेको छ । तर, नेपाली सेना जसलाई सुरक्षाको मेरुदण्ड मानिन्छ, त्यो अपराध स्वीकार्न तयार छैन । अझ, बस्नेत निर्दोष तथा बेकसुर भएको बताउँदै अपराध ढाकछोप गर्दै आइरहेको छ । आखिर सेना किन उक्त अपराधको छानबिन गरी दोषिलाई दण्डित गर्दैन ? यो प्रश्नको जवाफ खोज्न एकदम जरुरी छ । त्यस समय बस्नेत प्रकरणमा तात्कालिन प्रधानमन्त्री माधव कुमार नेपाल र तत्कालिन रक्षामन्त्री तथा हालकी रास्ट्रपति बिद्यादेवी भण्डारीको बीचमा समेत मनमुटाब भएको थियो । मैनाको अभियुक्तलाई अदालतमा बुझाउन पर्छ भन्ने माधव कुमार नेपाल र सेनाको कुरा सुनेर बुझाउन हुन्न भन्ने रक्षामन्त्री भण्डारी बिचमा कुरा नमिलेपछि विवाद चुलिएको थियो ।

कसरी भएको थियो मैना सुनारको हत्या ?

माओवादी द्वन्द्व चर्किदै गइरहेको थियो । मान्छेहरु धमाधम मारिदैँ तथा गिरफ्तार हुँदै थिए । तत्कालिन विद्रोही माओवादी र सेना बीच विभिन्न जिल्लाहरुमा भिडन्त भईरहेको थियो । सहर गाउँ जताततै निर्दोषहरु ‘आतंककारी’को नाममा मरिरहेका थिए । दिनहुँजसो यसै बिषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा ‘हेड लाइन’ बन्थे । यसै क्रममा, २०६० साल माघ २९ गते पोखरी चौरीकी १७ बर्षीय रिना बाराइलीलाई सुरक्षाकर्मीले घरमा सुतिरहेको अवस्थाबाट गिरफ्तार गरी बिहानीपख नजिकैको खोलामा लगेर विभत्स ‘हत्या’ गरे । आफ्नी दाजुको छोरीको हत्याको खबर सुनेर बेहाल भएकी मैनाकी आमा देवी सुनारले मानवअधिकारवादी र अधिकारकर्मीहरुलाई घटनाको बारेमा वास्तविकता बताइन् ।

त्यसपछि देवी सुनार सेनाको निशानामा परिन् । एक साता नवित्दै सेना खरेलथोककी विमला विकलाई पक्राउ गरी उनैको सूचनाको आधारमा देवी सुनुवारलाई गिरफ्तार गर्न सेना सो स्थानतर्फ लागेको थियो । विमला विकको सूचनाको आधारमा देवी सुनार माओवादी भएको र उनलाई जसरी भए पनि पक्रनको लागी महासेनानी बबी खत्रीले आदेश दिए । सोही अनुसार मेजर निरन्जन बस्नेतको टोली सहयोगीको साथ २०६० साल फाल्गुन ५ गते पाँचखाल पुगे । तालिम केन्द्रबाट करिव ८ किमि टाढा देवी सुनारलाई सेनाले घरमा भेट्टाएन । अन्ततः सेनाको टोलि सिधै मैनाको स्कूलतिर हानियो र विद्यालयमा पढ्दै गरेकी मैनालाई सिधै उठाएर लग्यो । यस्तो बिडम्बना दुनियाँमा कही हुन्छ ?

कलिला बालबालिकाहरु रहेको बिद्यालयमा हतियार धारी सेना पसेर निसहाय अबोधहरुको घाँटी निमोठ्ने ? यदी प्रहरीले साधारण जनतामाथि बल प्रयोग गर्छ भने ६ महिना थुनिनुपर्छ । सामान्य चोट पटक गराएमा ५ वर्ष, अंगभंग गरेवापत १६ वर्ष र मारे बापत २५ वर्ष थुनामा राख्नुपर्ने प्रावधान छ । यो केश त ‘अन्डर एज’भएकाले अझ यो भन्दा कडा कारबाही हुन्छ । यो अन्त्यन्त हृदयविदारक घटना हाम्रो तीतो सत्य हो । हामीकहाँ अझ पनि सयौ मैनाहरु जन्मिरहेका छन । यदी हामी अलिकती पनि ‘मान्छे’ हौ भने अपराधीहरु कानुनको दायरमा आउनुपर्छ ।

आँखामा कालो पट्टी बाँधिएकी अबोध १५ बर्षीय किशोरीलाई सिधै तालिम केन्द्र पु¥याइयो । त्यो वाल चिच्चाहट समय ‘जंगलमा रोए’ सरह थियो । तर उनको पुकार कसैले सुनेन । अन्तर्राष्ट्रिय कानुनको सिधा उल्लंघन, मानवअधिकारको न्यूनतम पनि ख्याल नगरी, साथै युद्धको नियम समेत वेवास्ता गरी माओवादी भएकोभन्दै चरम यातना दिन सुरु भयो । महासेनानी ववी खत्रीको नेतृत्वमा मैनालाई सुरुमा बाधेर निर्घात रुपमा शारीरिक यातना दिईयो । त्यसपछि बाल्टीमा पानी राखेर चोबल्दै निकाल्दै गरियो । त्यतिले मात्र नपुगेर मैनालाई करेन्ट समेत लगाईयो । एक घण्टाभन्दा बढी चरम यातनाको कारण मैनाले मुखबाट फिज काडेर प्राण त्यागिन । यो भन्दा कारुणीक कथा अरु के हुनसक्छ ?

यस्ता अपराधीलाई काराघारमा उभ्याउन पर्छ की पर्दैन ? उनको गिरफ्तारीको घटना आगो सल्किए झैँ सल्किसकेको थियो । देवी सुनार(माईति गएकी) घर फर्केर आईन । केही दिनपछि गाउको स्थानीय टोली मैनाको अवस्था बुझ्न तालिम केन्द्र गए र महासेनानी बबी खत्रीलाई घटना बारे जिज्ञासा राख्दा उल्टै कड्किएर आफुलाई ‘थाहा नभएको’ बताए ।

न्यायको खोजीमा भौतारिदैं आमा देवी सुनार

उक्त घटनापछि आफ्नी प्यारी छोरी बेपत्ता भएको थाहा पाएपछि आमा देवी सुनार र बाबु पूर्ण बहादुर सुनार न्यायको लागि विभिन्न मानवअधिकारकर्मी, मिडिया तथा अन्य निकायहरुमा निरन्तर धाई रहेका छन् । उनीहरुको खुट्टाका पैतालाहरु खिईसकेका छन् तर उनीहरुको यात्राले कहिले पूर्णता पाउला ? त्यो भने हेर्न बाँकी नै छ । केही बर्ष अगाडी मैनाका बुवा पूर्णबहादुर सुनारको मृत्यु भइसकेको छ । उनको देहबसानको कारण बिस सेवन गरी आत्महत्या गरेको प्रहरी रिपोर्टमा उल्लेख छ ।

२०६१ बैशाखमा काठमाडौंबाट प्रकाशित हुने एक साप्ताहिकमा पाँचखाल घटनाको बारेमा पाठक पत्र प्रकाशित भएपछि मैनालाई वीरेन्द्र सैनिक तालिम केन्द्रमा लगेर हत्या गरेको स्वीकार गर्न सेना बाध्य भयो । त्यसपछी मानब अधिकारकर्मीको साथमा देबी सुनारको टोली तालिम केन्द्रमा मैनाको अवस्था बुझ्न जाँदा, तत्कालिन इकाइ प्रमुख राजु नेपालीले ‘तिम्री छोरी’ साउन ४ गते नै ‘मारिइ’ भनेर असम्भ जवाफ फर्काए ।

त्यसपछि, सेनाले बयान फेर्दै, मैनालाई गिरफ्तार गरेको कुरा साँचो भएको तर भाग्न खोज्दा भिरबाट लडेर मृत्यु भएको बताएको अधिकारकर्मी भोजराज अधिकारीले जानकारी दिएका थिए । तर पछि फेरी अर्को विज्ञप्ती प्रकाशित गर्दै हत्या गलत तरिकाले भएको हुनाले सेनाले ‘कोर्ट अफ इन्क्वेरी’ गठन गरेको जानकारी दिई हत्या गरेको स्वीकार गरियो । पछि २३ भादौ २०६२ मा ‘कोर्ट अफ इन्क्वेरी’ को प्रतिवेदन अनुसार ‘नियोजित रुपमा हत्या नगरेको’ तर घटनाको प्रकृति हेर्दा गलत भएकोले बबी खत्रीलाई ६ महिना जेल सजाय र १ बर्ष बढुवा रोक्का तथा सुनिल अधिकारी र अमित पुनलाई २ बर्ष बढुवा रोक्का गरिएको लाजमर्दो फैसला सुनाइयो ।

तर, प्रमुख अभियुक्त निरन्जन बस्नेतलाई भने सफाई दिइयो । यस प्रकारको न्याय दुनियाँमा कही हुन्छ ? अर्को कुरा, मे २०१४ मा नेपालको संसदले नेपालमा १९९६ देखि २००६ सम्म चलेको गृहयुद्धमा भएका मानव अधिकारका गम्भीर उल्लङ्घन र दुव्र्यवहारका बारेमा अनुसन्धान गर्नका लागि बेपत्ता पारिएका व्यक्तिहरूको अनुसन्धान, सत्य निरूपण तथा मेलमिलाप आयोग स्थापना गर्ने निर्णय ग¥यो । यद्यपी उक्त निर्णय सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेको तथा कसूरदारहरूलाई क्षमादान तथा कानूनी कारवाहीबाट उन्मुक्ति दिने भनेर स्थानीय र अन्तर्राष्ट्रिय समूहहरूले आलोचना गरेको पुरानो कानूनकै प्रतिलिपि जस्तो छ ।

नेपालमा अल्पसंख्यकहरुमाथिकोे धरपकड सन् २०१६ सम्म आइपुग्दा सरकारको धरपकड घट्नुको साटो झन बढ्दै गइरहेको कुरा अन्र्तराष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले स्पस्ट पार्दछ । आफ्नो देशमा शरणलिई रहेको तिब्बती शरणार्थीलाई समेत दमन गरेको समाचार समय समयमा आइरहन्छ । आखिर सरकार किन यस विषयमा उदासिन छ त ? जबाफ खोज्न जरुरी छ । सरकारले तिब्बती शरणार्थीहरूका विरोध कार्यक्रमहरूमाथि कडा प्रतिबन्ध लगायो र सार्वजनिकरूपमा दलाई लामाको जन्मोत्सव वा तिब्बती नयाँ वर्ष मनाउन निषेध ग¥यो । बौद्धहरूका धार्मिकस्थल र गुम्बाहरूलाई सरकारी निगरानीमा राखिएको छ । ह्युमन राइट्स वाचले विज्ञप्ती नै निकालेर नेपालमा रहेको तिब्बती समुदायलाई उनीहरूको अभिव्यक्तिको स्वतन्त्रता र भेला हुने अधिकार प्रदान गर्ने आफ्नो आह्वान नेपाल सरकारसमक्ष फेरि पनि दोहो¥याएको छ ।

सुरु देखि नै नागरिक अदालतमा मुद्दा चलाऊन माग गर्दै आएकी देबी सुनारले सेनाको उक्त फैसला चित्त नबुझेको साथै बस्नेतलाई सफाई दिएपछी कार्तिक २७, २०६२ मा काभ्रेमा मुद्दा दायर गरिन । आनुसन्धानको क्रममा २०६३ चैत ९ गते पाँचखाल स्थित बुट्यान नजिकैबाट मानबअधिकार कर्मीको उपस्थितिमा मैनाको शव उत्खनन् गरियो । जब मैनाको शव उत्खनन भयो, तब प्रहरीले प्रक्रिया पु¥याएर उनीहरु विरुद्ध मुद्दा दायर ग¥यो । यो घटना नेपालको इतिहासमा पहिलोपल्ट सैनिक अदालत बाट नागरिक अदालतमा गएको थियो । त्यसपछी तत्कालिन प्रधानन्यायधिस रामकुमार श्रेष्ठ र न्यायाधिश वीरबहादुर राइमाझिको संयुक्त ईजालाशले प्रक्रिया पु¥याई अदालतमा मुद्दा दायर गर्न परमादेश जारी गरियो । त्यसपछि जिल्ला अदालत काभ्रेले चारै जना विरुद्ध पक्राउ पुर्जीजारी ग¥यो ।

अदालतले २०६४ साल चैत्र ४ मा पुनलाई, २०६५ साल बैशाख १९ मा बस्नेत लाई, २०६५ साल असार १७ गते अधिकारीलाई, २९ असार २०६५ मा खत्रिलाई ७० दिन भित्र अदालतमा उपस्थित हुन पत्रचार गरेपनि उनिहरुले पत्र बुझ्न अस्वीकार गरेकाले घरमा पत्र टाँसिएको थियो । त्यस समय खत्रिले अवकाश पाइसकेका थिए भने अधिकारिले २ कार्तिक २०६३ आफ्नो पद बाट राजिनामा दिए । खत्री अझ पनि नेपालमा नै छन भने अधिकारि नेपाल छाडेर अमेरिका पुगिसकेका छन । हालै अदालतले मैनाको मुद्दा ब्युताएर अलिकती भएपनि आश जगाएको छ । अब दोषीलाई अबिलम्ब कानुनको दायरामा ल्याउन आवश्यक भइसकेको छ । कानुनको नजरमा सबैजना समान हुन र अब उप्रान्त कोही निर्दोषहरुले अनाहकमा ज्यान गुमाउनु नपरोस । यसका लागि हामी सबैले हातेमालो गर्दै आफ्नो ठाउँबाट सम्बन्धित निकायलाई दबाब दिन जरुरी छ ।

(युवराज पाण्डे , हाल बेलायत , लन्डन)

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण