बालिकालाई सामुहिक बलात्कार गर्नेलाई कारवाहीको माग गर्दै कावासोतीमा प्रदर्शन
२७ चैत, नवलपरासी । १३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने अभियुक्तहरू कारवाही गर्न माग गर्दै शनिबार कावासोतीमा महिलाहरुले प्रदर्शन गरेका छन् ।
घटनाको १० दिन बितिसक्दा पनी दोषी पक्राउ पर्न नसकेपछि महिलाहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले कावासोतीमा र्यालीका साथै धर्ना दिएका छन् । केही बेर उनीहरुले सडक अवरुद्ध समेत गरेका थिए ।
संयुक्त संघर्ष समिति बनाएर आन्दोलनमा उत्रिएका महिलाहरुले कावासोतीको फलफूल चोकदेखि कावासोतीसम्म जुलुस प्रदर्शन गरे ।
बलात्कारीलाई कारवाही गर, पीडित बालिकाको निःशुल्क उपचारको व्यवस्था गर, अन्धो कानुन चाहिदैन, बालअधिकार सुनिश्चित गर लगायतका नारा लेखिएके प्ले कार्ड सहित नगरपरिक्रमा गरी इलाका प्रहरी कार्यालय नवलपुर अगाडि कोणसभा भएको थियो ।
दोषीलाई यथाशिघ्र पक्राउ गरी कारवाही नगरे थप आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ । त १८ गते विहिवार साझ बालिकालाई ३ जना युवाहरुले सामुहिक बलात्कार गरेका थिए । घटनापछि दोषी फरार छन् ।