कतारमा एक नेपालीको मृत्यु
म्याग्दी, चैत २८ – वैदेशिक रोजगारीका लागि कतार गएका म्याग्दीका एक युवाको ज्यान गएको छ । बेनी नगरपालिका–१३ सोताका दिलबहादुर घर्तीको ज्यान गएको एनआरएन कतारका मजदुर विभाग संयोजक प्रेम रसाईलीले टेलीफोनमा जानकारी दिनुभयो ।
घर्तीको ज्यान जानुको कारण थाहा नभएको र कारण पत्ता लगाउनका लागि म्याग्देलीको साझा संस्था मोना कतारले दूतावास, एनआरएनसहित कम्पनीमा कार्यरत नेपालीसँग सम्पर्क गरिरहेको जनाएको छ । घर्तीको ज्यान गएपछि कम्पनीले नेपाली दूतावासलाई खबर गरेको थियो ।
दूतावासमार्फत एनआरएनमा खबर पुगेपछि म्याग्देलीले घटनाका बारेमा जानकारी पाएका थिए । घर्तीको परिवारमा बुवा, आमा, तीन भाइबहिनी, श्रीमती तथा एक छोरा र एक छोरी छन् ।