तराई–मधेसका समस्या समाधान गर्न सरकारले वार्ता र संवादका लागि निरन्तर पहल गरिरहेको र राजनीतिक समितिको क्षेत्राधिकारलाई अझ स्पष्ट पार्दै र यसमा सबै पक्षको प्रतिनिधित्व सुनिश्चित गर्दै तीन महिनाभित्र सीमाङ्कनको विषय टुङ्गो लगाउने र सङ्घीयतालाई व्यवहारमा कार्यान्वयन गर्दै जाने तर दुई राष्ट्रियता जस्ता अनुचित विषय उठाएर सामाजिक सद्भाव र राष्ट्रिय एकताको आधार कमजोर पार्ने, अराजकताको स्थितिभित्र विखण्डनको बीउ रोप्ने र विखण्डनकारी तत्वलाई खेल्ने भूमि प्रदान गर्ने कुरा स्वीकार्य हुन नसक्ने ओलीले उल्लेख गर्नुभएको छ ।
प्रतिवेदनमा “संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई संविधानका अन्तर्वस्तु र निर्माण प्रक्रियाका बारेमा सुरुदेखि नै अव्यावहारिक, गलत र हानिकारक मान्यता बोकेका ‘मधेस केन्द्रित’ दलहरूको मोर्चाको संज्ञा दिइएको छ । ‘‘सहमति बेगर संविधान निर्माण गर्नै नपाइने र यसका लागि अनुचित मागलाई मान्नैपर्ने हठलाई स्वीकार्न सकिंँदैनथ्यो, संविधान बन्न नदिएर मुलुकलाई नै असफलतातिर धकेल्ने योजनालाई सफल हुन दिन सकिँंदैनथ्यो, त्यस क्रममा संविधानका अन्तर्वस्तु या प्रक्रियामा असहमतिका विषय मात्रै प्रकट भएनन्, ‘अधिकार’ र ‘माग’ को आवरणमा कतिपय तत्वहरू देशको अखण्डता र अस्तित्वमै आँच पु¥याउने षड्यन्त्रमा पनि सङ्लग्न देखिए”भनिएको छ ।
केन्द्रीय सदस्यबीच समूहगत छलफल जारी रहेको प्रतिवेदनमा संविधानको घोषणा हुनु ऐतिहासिक उपलब्धि भएको जनाउँदै उहाँले झन्डै ८० वर्ष अगाडिदेखि सुरु भएको लोकतन्त्र र अधिकार प्राप्तिको चरण आधारभूत रूपले सम्पन्न भएको, सशस्त्र द्वन्द्वलाई समाप्त पार्न सुुरु भएको शान्ति प्रक्रिया मूलभूत रूपमा सम्पन्न भएको र विशेष राजनीतिक सङ्क्रमणकाल पनि मूलतः समाप्त भएको जनाउनुभएको छ ।
प्रतिवेदनमा भारतीय नाकाबन्दी र राष्ट्रिय स्वाभिमान, तराई–मधेसमा उत्पन्न समस्या र समाधानका प्रयास, सरकारको ऐतिहासिक जिम्मेवारी, नेपाली काँग्रेसले ‘राजनीतिक इमानदारी नदेखाएको’ कुरा, छिमेकी राष्ट्रको भ्रमण तथा अन्तर्राष्ट्रिय सम्बन्धमा नयाँ विकास, पार्टीको प्रदेश संरचना निर्माण, सदस्यता विस्तार आदि विषयमा पनि उल्लेख गरिएको छ ।