गृहपृष्ठ » फोटो ग्यालरी, मुख्य समाचार, समचार, स्वास्थ्यमध्यरातका निर्णयभित्र लुकेका पत्रकारका पीडा (फोटोकथा)

मध्यरातका निर्णयभित्र लुकेका पत्रकारका पीडा (फोटोकथा)

August 10, 2015७६५ पटक
मध्यरातका निर्णयभित्र लुकेका पत्रकारका पीडा (फोटोकथा)
नेताहरुको मध्यरातमा निर्णय लिने संस्कारबाट बारम्बार पीडित छन् पत्रकार। सिंहदरबारमा शनिबार यो क्रम दोहोरियो। अघिल्ला दिनहरुमा अबेर रात बसेर अनिर्णित बैठकका निरस खबर बोकेर फर्केका पत्रकारहरुले शनिबार सहमतिमा हस्ताक्षर भएपछि ‘उपलब्धि’ ठाने। आफ्नो कर्तव्य पूरा गर्दै अरुलाई स्वादिलो खबर पस्केर बेस्वादको अनिदो बोकेर उनीहरु सिंहदरबारबाट निस्किए।
Journalist 1

Journalist 2

झकिझकाउ कक्षभित्र घुम्ने कुर्सीमा बसेका नेताहरुले कतिबेला निर्णय गर्लान् भनेर बाहिर भुँइमा कठोर रातको सामना गर्छन् पत्रकार। सिंहदरबारभित्र बैठक चल्ने भवनका छानामुनि ओत लाएर बस्नु पत्रकारको नसिव बनेको छ। बैठक कक्षका आहटले क्षणक्षणमा तरंगित पार्छ। केही भैहाल्यो कि भन्दै दौडिनै पर्‍यो।
Journalist 3
‘सिंहदरबारका मछछ्ड कति ठूला हुन्,’ पाखुरामा खुन चुस्दै गरेको मछ्छडलाई प्याट् पार्दै एकजना पत्रकारले व्यंग्य कसे ‘यहाँ बस्ने नेताले जनता चुस्ने, मछछ्डले हाम्लाई चुस्ने।’ यस्तै हसी-मजाकमा पीडा र छट्पटी टर्छन्।
Journalist 4
छानामुनिका पत्रकारको खाने ठेगान छैन। बस्ने ठाउँ छैन। पिउने पानीसम्म पाउँदैनन्। पानीको बोतल हात पर्दा घुट्की गनेर बाँडिचुँडी पिउदा सन्तोष मिल्छ।
Journalist 5
कोठाभित्र नेताहरुलाई क्षणक्षणमा प्लेटमा फलफूल, चिया, चिसो पुग्छ। घुम्ने कुर्सी, उज्याला कोठामा अपुग केही छैन। आडैमा सहयोगी हुन्छन् आदेश/निर्देश चल्छ।
Journalist 6
नेताहरुलाई बैठक कक्षमै स्टार होटलका डिनर आउँछ। भोको पेट लिएर क्यान्टिन पुगेका पत्रकारलाई जवाफ आउँछ ‘खाने कुरा सकियो’।
Journalist 7
नेता आउँदा बाटोमा उभिएर पछिल्लो अवस्थाबारे जिज्ञासा राख्छन् पत्रकार। नेता आफूलाई चाहिएको बेला ‘क्यामेरा फेस’ पार्दै गफिइहाल्छन्। नचाहिएको बेला सामान्य शिष्टाचारको ख्यालसम्म नगरेर तिनै पत्रकारलाई पन्छाएर खस्रो अनुहार पार्दै लम्किन्छन् नेता।
Journalist 8
सिंहदरबार भवनका भित्रि भाग संवेदनशील क्षेत्र भन्दै पत्रकारलाई निषेध गरिन्छ। छानामुनि र खुल्ला आकाशमा जाडो, गर्मी र कष्ट काट्दै समाचार पर्खन्छन् पत्रकार। तर कसैले सोध्दैन पानी, कसैले सोध्दैन गाह्रोसाह्रो। नेतालाई जतिबेला चाहिन्छ पत्रकार भित्र डाकिन्छन्। पंक्ति मिलाएर ठाँटिएका नेताको चित्र उतार गर्दै भाषण टिप्न नभ्याउँदै फेरि खेदिन्छन् पत्रकार। मर्यादापालकबाट आफू धकेलिन्छन् तर त्यसको कुनै पर्वाह नगरी मिडिया हाउसमा समाचार धकेल्छन् पत्रकार।

Journalist 9

Journalist 10

Journalist 11

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण