गृहपृष्ठ » मुख्य समाचारपाठ सिकाएर गयो वर्ष २०७२, शुभ होस् वर्ष २०७३ !

पाठ सिकाएर गयो वर्ष २०७२, शुभ होस् वर्ष २०७३ !

April 13, 2016१२१ पटक

२०७३  वैशाख १ प्युठान– नयाँ संविधान जारी गर्ने ऊर्जाको साथ आरम्भ भएको २०७२ साल संविधान कार्यावन्यनको थालनीमा अन्तराष्ट्रिय बहस भारतसंगको सम्वन्धमा तिक्तता र त्यसको सुधारमा केन्द्रित हुँदै बिदाई भइसकेको छ ।सु–स्वागतम्, वर्ष २०७३ असह्य पीडा दिएको वर्ष २०७२ सकिएको छ । वर्ष २०७२ जीवित पूस्ताका लागि कहिल्यै नबिर्सिने र बिर्सनलायक सालको रुपमा रह्यो । वर्ष २०७२ का विशेषगरी ३ वटा घटना र परिघटनाले बढी पीडा दिइरहनेछन्, वर्षौंवर्षसम्म पनि । विनाशकारी महाभूकम्प, जनताले बनाएको संविधान र भारतको नाकाबन्दी । यी तीनवटा घटना वर्ष २०७२ शुरु हुँदादेखि अन्त्यसम्मै चर्चामा रहे ।  नेपालीलाई झस्काइरहे र तर्साइरहे ।

वर्ष २०७२ पीडादायी मात्रै पनि रहेन । धेरै खुशी हुनुपर्ने घटना भएपनि तीनले मलम लगाउन सकेनन् । विकासको बाटो पहरामा पुगेर रोकिएजस्तै भयो ।

 10410377_1697491330509156_3237696593764262593_n

महाभूकम्पको विध्वंश

नयाँ संविधानको उर्जाको बर्षको रुपमा आरम्भ २०७२ सालको दोस्रो साता नै विनाशकारी भुकम्प गयो । भूकम्पमा करिव ९ हजार नेपालीको ज्यान गयो भने लाखौं घरवारविहीन हुन पुगे ।जसले नेपालीलाई उठ्नै नसक्नेगरी च्याप्यो, आर्थिक, सामाजिक रुपमा । तर, भूकम्पपछि नेपाल र नेपालीलाई विश्वको साथ र सहयोगको कुनै कमि रहेन् । विदेशी मुलुक र खाताले सहयोगमा देखाएको तत्परता सराहनिय थियो । उद्धार सहयोगका लागि उनीहरु नेपाल ओइरिएका थिए । कतिपय त सहयोगको लागि स्थानसमेत नपाएर फर्के । बेलायतले चिनुक हेलिकोप्टर नेपाल ल्याउन कूटनीतिक पहल गर्दा पनि नसकेर सम्वन्धमा नै आघात पुग्यो । राजकुमार ह्यारीले बर्षको अन्त्यमा नेपाल भ्रमण गरेर त्यसमा मलम लगाउने काम भयो ।

गोरखाको बारपाक केन्द्रविन्दु बनाएर आएको भूकम्पले ठूलो धनजनको क्षति भयो । वैशाख २९ गते फेरि सिन्धुपाल्चोक–दोलखा केन्द्रविन्दु भएको दोश्रो शक्तिशाली भूकम्प आयो । दुवै भूकम्पमा परी नौ हजार बढीको ज्यान गयो, हजारौं घरबारविहीन भए । ५ लाख भन्दा बढी घर पूर्ण रूपमा क्षति भए भने त्यत्ति नै संख्यामा आंशिक क्षति पुग्यो । यसबाट ८० लाख जनसंख्या प्रभावित भयो । राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार जसबाट ७ सय ६ अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भयो ।

यसबाट मुलुकका १४ जिल्ला सबैभन्दा बढी प्रभावित भए । सबैभन्दा बढी गोरखा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, काभ्रे, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुर प्रभावित भए । मुलुकको आर्थिक वृद्धि ऋणात्मक बन्यो । अर्थतन्त्र धराशायीकै अवस्थामा छ । भूकम्पपीडितको घाउमा अझैपनि राम्रोसँग मलम लगाउन सकिएको छैन । पुनःनिर्माणको काम अन्योलमै छ । हुरीबतासमा पनि भूकम्पपीडितले कष्टपूर्ण दिनरात बिताए । वर्षायाम शुरु हुने समय आइसक्दा पनि भूकम्पपीडितलाई सरकारले आवश्यक राहत दिन सकिरहेको छैन ।

संघीयतासहितको नयाँ संविधान

भूकम्पले मुलुकलाई थिलथिलो पारेका बेला लामो प्रतीक्षा र रस्साकसीपछि असोज ३ मा मुलुकले संघीयतासहितको नयाँ संविधान पायो । यस्तो अवस्था आरम्भ भएको नेपालीको २०७२ मा सुखद क्षण पनि आयो । भुकम्प पछि दलहरुमा देखापरेको एकेबद्धताले नयाँ संविधान जारी भयो । संविधान जारीसंगै विश्वभर नेपाल पुन: चर्चामा आयो । भुकम्प, संविधान जारी, भारतीयहरुको नकाबन्दीसम्मको ब्यवहार, भारत–बेलायत सहकार्य, प्रधानमन्त्रीको भारत र चीन भ्रमण तथा भारत–युरोपेली महासघको सहकार्यसम्म पनि पुग्दा यो बर्ष अन्तराष्ट्रिय जगतमा कतै न कतै नेपाल रहिरह्यो । अन्तराष्ट्रिय सञ्चारमाध्यमको आँखाबाट पनि नेपाल टाढा रहन सकेन् ।
दुखद र सुखद दुवै समाचारमा नेपाल अन्तर्राष्ट्रिय जगतमा बर्षभरि नै चर्चामा रह्यो ।पहिलो संविधानसभाको असफलतापछि दोस्रो निर्वाचनपछि नयाँ संविधान आयो । संविधानसभाका ५ सय ३७ सभासदले हस्ताक्षर गरी संविधानलाई अनुमोदन गरे, तर मधेसी दलले संविधानसभा बहिष्कार गरे । मधेसी, जनजाति ५७ सभासदले संविधानसभा बहिष्कार गरेका थिए ।

यो वर्षको सबभन्दा ठूलो उपलब्धि नै लामो समयदेखि थाँती रहेको नयाँ संविधान आउनु हो । यसले खासगरी गणतन्त्र र संघीयताको जग बसालेको छ । मुलुक संक्रमणकालबाट गुज्रिरहेका बेला संविधान जारी गरी प्रमुख राजनीतिक दलले मुलुकलाई सही मार्गमा ल्याएका थिए । त्यसले राजनीतिक दलप्रति बढ्दै गएको अविश्वासलाई कम गर्ने काम र्गयो ।

अन्तरिम संविधानबाट चलेको मुलुकलाई यो संविधानले बाटो तय गरे पनि मधेसी र जनजाति दलले विरोध गरेकाले यसमा अझै परिमार्जन गर्नु अपरिहार्य भएको छ । मधेसी दलको असहमतिबीच जारी भएको संविधान लोकतान्त्रिक विधिबाट जारी भएको थियो । संविधान जारी गर्नुअघि असुन्तष्ट दलसँग पर्याप्त गृहकार्य नगर्नु कमजोरी भए पनि संविधान जारी नभएको भए मुलुक योभन्दा अप्ठ्यारो अवस्थामा पुग्ने खतरा थियो ।

अघोषित नाकाबन्दी

नयाँ संविधान जारी भएपछि भारतले स्वागत गरेन, उसको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संविधान जारी भएपछि आफूले ‘नोट’ गरेको उल्लेख ग¥यो । भारतले असन्तुष्टि जनाए पनि चीनले संविधान जारी गरेकामा खुसी व्यक्त ग¥यो । भारतले संविधान जारी भएकामा असन्तुष्टि मात्र जनाएन, नेपाल भित्रिएका आफ्ना यातायात मजदुर असुरक्षित भएको भन्दै संविधान जारी भएको दुई दिनपछि असोज ५ देखि नै अघोषित नाकाबन्दी ग¥यो । त्यसपछि ७० प्रतिशत इन्धन आयात हुने वीरगन्ज नाकामा मधेस केन्द्रित दलको आन्दोलन चर्कियो । त्यहाँ रहेको मितेरी पुलमा त्रिपाल टाँगेर आन्दोलनकारीले २४ घण्टे धर्ना दिन थाले ।

त्यो नाका ठप्प भयो । तर, आन्दोलन नभएका मेची, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीबाट इन्डियन आयलका डिपोमा गएका गाडीलाई इन्धन दिइएन । यता वीरगन्ज नाकामा धर्ना बसेका आन्दोलनकारीलाई भारतीय पक्षले खानपिनको व्यवस्था गरिरह्यो । ‘संघीय प्रदेशको सीमांकनमा हेरफेर, राज्यको हरेक तहमा प्रतिनिधित्वमा समानुपातिक प्रणाली, नागरिकता, निर्वाचन क्षेत्रको पुनरावलोकन’ हुनुपर्ने माग गर्दै मधेसी मोर्चा त्यसबेला आन्दोलनमा उत्रिएको थियो । भारतले आन्दोलनबीचमा आन्दोलनरत दलका माग सम्बोधन गर्न निरन्तर दबाब दिइरह्यो । नाकाबन्दी १ सय ३५ दिनसम्म चल्यो । नाकाबन्दीका कारण २०४५ सालपछि पहिलो पटक इन्धनको भयंकर समस्या भयो, यतिसम्मकि राजधानीबासी दाउरे युगमा फर्किन बाध्य भए ।

मधेस, थारु आन्दोलन

संविधान जारी प्रक्रियासँगै सुरु भएको मधेस, थारु आन्दोलन १७५ दिनसम्म चल्यो । यो आन्दोलनका क्रममा मधेस आन्दोलनकारी, प्रहरी र सर्बसाधारणसहित ६२ जनाको दुःखद मृत्यु भयो । संविधान जारी हुनु अघि ७ भदौमा कैलालीको टीकापुरमा थारु आन्दोलनकारीको आक्रमणमा नेपाल प्रहरीका एसएसपीसहित सात प्रहरी र एक बालकसहित ८ जनाको मृत्यु भएको थियो । आन्दोलनले उग्ररुप लिन थालेपछि सेना परिचालन भयो ।

संविधान जारी भएपछि झन् यसले उग्ररुप लियो । मध्य र पूर्वी तराइका सहर वीरगन्ज, जनकपुर, राजविराजमा आन्दोलन केन्द्रित भयो । वीरगन्ज केन्द्रित आन्दोलनले विशेष गरी इन्धन आयातमा अवरोध ग¥यो । यतिसम्म कि आन्दोलनका कारण वीरगन्ज धरासायी हुने खतरा पनि देखाप¥यो । अन्ततः रक्सौल र वीरगन्जका स्थानीयले माघको तेस्रो साता आन्दोलनकारीको प्रतिकारमा उत्रिए । भारतले पनि माघ २३ मा अघोषित नाकाबन्दी खुला गरेपछि मधेस आन्दोलन पनि स्थगित भयो । भारतले नाकाबन्दी अघोषित रूपमा फिर्ता लिनु र मधेस आन्दोलन स्थगित हुनु संयोग बन्न पुग्यो ।

ओलीको उदय चुनौती

२०७१ असारमा पार्टी अध्यक्ष बनेका केपी ओलीका लागि २०७२ साल निकै फलदायी रह्यो । उनी असोज २४ मा प्रधानमन्त्रीमा चयन भए । मुलुकमा नाकाबन्दी भइरहेकै बेला ओली प्रधानमन्त्री बने । एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकलगायत साना दलको समर्थनमा ओली सरकार बन्यो । त्यसबेला उनी सामु नाकाबन्दी अन्त्य गर्ने र असन्तुष्ट मधेसी दलसँग सहमति खोज्ने चुनौती थियो । यी दुईमध्ये लामो कूटनीतिक पहलपछि भारतको अघोषित नाकाबन्दी अन्त्य भएको छ भने मधेसी दलसँग अहिले पनि सहमति हुन सकेको छैन ।

०७२ सालले बिदा लिनै लागेको बेला मधेसी दल फेरि आन्दोलनको गृहकार्यमा लागि सकेका छन् । मधेसी मोर्चाप्रति ओलीको अडान कायम रहे, फेरि समस्या आउने स्थिति विद्यमान छ । प्रधानमन्त्री ओलीले छ जना उपप्रधानमन्त्रीसहितको ४० जनाको जम्बो मन्त्रीमण्डल बनाई ‘नयाँ कीर्तिमान’ कायम गरे । बिशेषगरी एमाले र एमाओवादीको गठबन्धनमा बनेको सरकारले आपूर्ति व्यवस्था सहज पार्न र कालाबजारी नियन्त्रण गर्न सकिरहेको छैन । नाकाबन्दी खुलेर सहज अवस्थामा समेत खाना पकाउने ग्यासको अभाव कायमै छ । भूकम्प पीडितको बासको पुननिर्माण गर्ने काममा सरकारको काम निकै सुस्त छ ।

भारतसंग सम्बन्ध चिसो, चीनसंग सम्झौता

सरकार बनेको छ महिनाको अवधिमा प्रधानमन्त्री ओलीले भारत र चीनको भ्रमण गरे । फागुन ७ मा भएको भारत भ्रमण सोचे जस्तो उपलब्धिमूलक हुन सकेन । केही बुँदे सहमति भए पनि भ्रमणको अन्त्यमा संयुक्त विज्ञप्तिसमेत जारी हुन सकेन । आन्दोलनरत मधेसी दललाई सहमतिमा ल्याउनेबारे ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुरा नमिलेपछि संयुक्त वक्तब्य आउन सकेन । कुनै पनि राजकीय भ्रमणका बेला संयुक्त वक्तब्य आउन नसक्नु अर्थपूर्ण रुपमा लिइन्छ । २०७२ मा नेपाल र भारतबीच बिगतको तुलनामा सम्बन्ध चिसियो । चैत ७ मा भएको ओलीको चीन भ्रमणले भने निकै चर्चा पायो । भ्रमणका बेला ओलीले पारवहन तथा यातायातलगायत सम्झौता गरे । चीनको केरुङबाट नेपालमा रेल ल्याउन अध्ययन गर्ने, पोखरा बिमानस्थल निर्माण र पेट्रोलियम पदार्थ भण्डारणका लागि अध्ययन गर्नेलगायतका महत्वपूर्ण सहमति भए । दुई देशबीच संयुक्त बिज्ञप्ती समेत जारी भयो ।

कांग्रेसमा देउवा हावी

कांग्रेसको तेह्रो महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवाले उपाध्यक्ष रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वा्चित भए । संसदीय दलको निर्वाचनमा पनि पौडेललाई पराजित गर्दै देउवा संसदीय दलको नेता भए । देउवाका लागि ०७२ साल महत्वपूर्ण रह्यो ।

महिला राष्ट्रपति र सभामुख

नेपालको इतिहासमा यो वर्ष दुई महिला महत्वपूर्ण पदमा पुगे । एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति र एमाओवादी नेतृ ओनसरी घर्ती सभामुखमा निर्वा्चित भए । कात्तिक ११ मा विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वा्चित भइन् भने असोज २९ मा ओनसरी घर्ती सभामुखमा चयन भइन् । त्यस्तै १४ कात्तिकमा माओवादी पूर्ब लडाकू कमाण्डर नन्दबहादुर पुन उपराष्ट्रपतिमा निर्वा्चित भए ।

खेलकुद जगतमा नवयुगको सुरुवात

नेपाली फुटबलको इतिहासमा यो वर्ष निकै उपलब्धिमूलक रह्यो । फागुन ३ भारतको सिलोङमा भएको साग फुटवल प्रतियोगितमा नेपालले २३ वर्षपछि स्वर्ण जित्यो । भारतलाई २–१ हराएर इतिहास रचेको थियो । त्यस्तै माघ ८ ढाकामा भएको बंगबन्धु गोल्डकपको फाइनलमा बहराइन यु–२३ लाई ३–० ले हराएर च्याम्पिएन भयो । क्रिकेटमा भने यो वर्ष निराशाजनक भयो । नेपालले विश्वकप टी ट्वान्टी प्रतियोगितामा पुग्न सकेन । फुटबलमा म्याच फिक्सिङ गरेको भन्दै कप्तान सागर थापासहित पाँच खेलाडी पक्राउ परे । जसका कारण उनीहरूले फूटबल खेल्न आजीवन प्रतिबन्ध भोग्नुपरेको छ ।

पाठ सिकाएको वर्ष

वर्ष २०७२ ले नेपालीलाई धेरै पाठ सिकाएको छ । वर्ष २०७२ ले भूकम्पीय जोखिमबाट बच्नका लागि भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न, भारतसँग मात्रै परनिर्भर नभइ आत्मनिर्भर बन्न र अरु छिमेकी मुलुकसँग समेत समान हैसियतको सम्बन्ध राख्न, राष्ट्रियताको विषयमा वकालत गर्नुमात्रै नभई व्यवहारिक हिसाबले उन्नति र समृद्धिका लागि काम नगरी सुखले खान पाइन्न भन्ने पाठ सिकाएको छ । यो पाठ विगतमा पनि नेपालले सिकेको भएपनि त्यसका लागि गर्नुपर्ने आधारभूत काम पनि नगरेकाले यो अवस्था आएको हो भन्ने कुराको हेक्का राख्न जरुरी छ ।

नयाँ वर्ष २०७३ को हार्दिक शुभकामना । शुभ होस् वर्ष २०७३ !

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण