प्रधानमन्त्रीद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास
वैशाख १, पोखरा
पोखराको छिनेडाँडामा विमानस्थल निर्माणका लागि चिनियाँ कम्पनी सीएएमसी इञ्जिनियरिङसँग २०७१ जेठ ८ गते नै ठेक्का सम्झौता भएको थियो। पोखरा विमानस्थल निर्माणका लागि २१ करोड ७० लाख अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ। चीनको एक्जिम बैंक सस्तो ब्याजदरमा सहुलियत ऋण दिन तयार भएको छ।
ठेक्का सम्झौता अनुसार विमानस्थलमा धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तराष्ट्रिय र आन्तरिक टर्मिनल बिल्डिङ, एयर ट्राफिक कन्ट्रोल टावर, कार्गो टर्मिनल बिल्डिङ, एयरपोर्ट हृयांगरलगायत निर्माण हुनेछन्।
विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको धावन मार्ग हुनेछ। यसमा बोइङ ७ सय ५७ आकारसम्मका जहाज उडान अवतरण गर्न मिल्ने बताइएको छ। यो विमानस्थल सन् २०१७ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ। जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढि सकिएको छ।