गृहपृष्ठ » मुख्य समाचार, राजनीतिगौरव शम्शेरले सेनापतिको कार्यभार राजेन्द्र क्षेत्रीलाई बुझाए

गौरव शम्शेरले सेनापतिको कार्यभार राजेन्द्र क्षेत्रीलाई बुझाए

August 10, 2015२१३ पटक
फोटो :बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई सेनापतिको कार्यभार बुझाउँदै सेनापति गौरव शम्शेर राणा
सेना देश र जनताको भरोसाको केन्द्र : राणा 
 
काठमाडौं : एक महिनापछि अवकास हुन लागेका प्रधानसेनापति गौरव शम्शेर राणाले सेनापतिको कार्यभार बलाधिकृत रथी राजेन्द्र क्षेत्रीलाई बुझाएका छन्।
तीन वर्षे कार्यकाल पुरा गरेर भदौं २४ मा अवकास पाउन लागेका सेनापति गौरव मंगलबारदेखि नै विदा बसेका छन्। विदामा बस्नुअघि कार्यभार सुम्पने प्रचलनअनुसार सोमबार जंगीअड्डामा आयोजित विशेष समारोहमा राणाले क्षेत्रीलाई जिम्मेवारी हस्तानान्तरण गरेका हुन्। राणा ४२ वर्ष लामो सैनिक सेवाबाट निवृत्त हुन लागेका हुन्।
रथी क्षेत्रीले मंगलबारदेखि नै कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।मन्त्रिपरिषद्ले यसअघि नै  रथी क्षेत्रीलाई कायममुकायम सेनापतिमा नियुक्त गरिसकेको छ ।
विदामा बस्न लागेका सेनापति राणाले आफ्नो कार्यकालमा संगठनभित्र भएका सुधार तथा अन्य कामबारे चर्चा गर्दै सकल दर्जाका नाममा एक सन्देश दिएका छन्।
सेनापति राणाले आफूलाई सुम्पिएको दायित्व सशक्त ढंगले पुरा गरेका कारण सेना देश र जनताको भरोसाको केन्द्र बनेको बताएका छन्।
सन्देशमा नेपाली सेनालाई गतिशील एवं आधुनिक संगठनको रूपमा विकास गर्ने उद्देश्यले सेनाको आधुनिकीकरणको मार्ग चित्रको रूपमा रहेको १० वर्षे दीर्घकालीन योजना तयार गरी राष्ट्रिय योजनामा समावेश गर्ने काम भएको उल्लेख गरेका छन्।
नेपाली सेनाको पुर्नढांचा प्रस्ताव नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनको क्रममा रहेको र भविष्यमा नेपाली सेनाको पुनर्संरचनाको लागि १० वर्षे दीर्घकालीन योजना आधार हुने विश्वास उनले व्यक्त गरेका छन्।
सेनापति राणाले नेपाली सेनाले पुर्व लडाकुहरूको समायोजन तथा दोस्रो संविधानसभा निर्वाचनको दौरान निर्वाह गरेको महत्वपुर्ण भुमिकाले लोकतान्त्रिक पद्धतिलाई मजबुत तुल्याउन र शान्ति प्रक्रियालाई अघि बढाउन सहयोग पुगेको उल्लेख गरेका छन्।
राणाले १८ औं सार्क शिखर सम्मेलनको सुरक्षा तथा व्यवस्थापनको भूमिका समेत नेपाली सेनाले उत्कृष्ट ढङ्गबाट पुरा गरेको तथा दुर्गम एवं विकट स्थानमा रहेका राष्ट्रिय महत्वका सडक निर्माण, प्रकृति संरक्षण र सम्बद्र्धन तथा प्राकृतिक विपद्का बेला राहत र उद्धार कार्यलाई प्रशंसनीय ढंगबाट निरन्तरता दिंदै आइरहेको हुंदा नेपाली सेनाप्रतिको जनविश्वास अभिवृद्धि हुंदै गइरहेको सन्देशमा उल्लेख गरेका छन्।
नेपाली सेना राष्ट्रको पहरेदार एवं राष्ट्रिय हितको रक्षकको रूपमा रही आएको र हालैको विनाशकारी भुकम्प पश्चात सीमित स्रोत र साधनको बाबजुद नेपाली सेनाले आफ्नो सम्पुर्ण शक्ति प्रयोग गर्दै राष्ट्र र राष्ट्रबासीको सेवामा अहोरात्र खट्टि प्रभावित क्षेत्रहरुमा गाउंस्तरसम्म व्यापक रूपमा परिचालित भई खोज, उद्वार तथा राहत कार्य संचालन गरी जनताको जिउ धनको रक्षा गर्न महत्वपूर्ण योगदान पुर्याउन सफल भएको सन्देशमा उल्लेख छ ।
 बदलिंदो सुरक्षा चुनौतीहरूलाई सामना गर्न समयानुकुल सैनिक संगठन सुधार गर्न अपरिहार्य भएकोले विगत ३ वर्षमा नेपाली सेनाको संगठनात्मक सुधारको लागि थुप्रै काम भएको उल्लेख गरेका छन्।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण