अन्तिम अवस्थामा बाच्नका लागि मान्छेले जे पनि गर्नु पर्दोरहेछ । मैले पनि बाच्नकै लागि सबै प्रयास गरे । मेरा अगाडि दुईवटा लाश थिए, जससँग विहानसम्म एउटै कोठामा संगै बसेको थिएँ । साथीहरु मर्दा, म किन मरिन ? च्यापिएका समयमा मैले धेरै पटक यस्तो सोचें ।’

घरमा भएका सोझा बा, आमा ,श्रीमती र आठ महिनाको छोरालाई यति संझिए कि उनीहरुकै सम्झना र विछोडमा आँसुको भेल बगाए । जब आँसु सकिए अनि आवज पनि बन्द हुन थाल्यो । घाटी सुक्यो । मैले काल पुकार्न थालें ।’ गत बैशाख १२ को बिनाशकारी भूकम्पमा परेर ८२ घण्टा पछि उद्धार गरिएका ऋषिराम खनालका कहालीलाग्दा संस्मरण हुन यी ।

wifi

घरको चरम गरिबीका कारण ऋषिरामले पढ्न पाएनन् । सानै देखि भारतमा कमाउन गए । सुरुमा १५ सयबाट काम गर्न,थालेका उनले ५ हजार सम्म महिनाको कमाउन थालेका थिए । सबै खाडीमुलुक जान थाले पछि उनी पनि महिनाको २० हजार कमाउने सपना बोकेर डेढ वर्ष देखि कतार जाने प्रयासमा लागे । ऋषिरामको यस पटकको प्रयासले भिसा लाग्यो । त्यही भिसा उनको जीवनको अभिषाप बन्न पुग्यो ।

घरबाट बैशाख ८ गते हिंड्दा आमाले ‘पूर्वको साईत राम्रो छैन् , होस् गरेर जानु बाबु’ भनेको उनले ८२ घण्टामा ८२ करोड पटक सम्झिए । १० गते कतारका लागि उनले नेपाल छोड्नु थियो । म्यानपावर कम्पनीसम्म लगेर भिसा मिलाइदिने गाउँले दाइ धनिराम भूसालले ‘१० गते फ्लाइट छ तुरुन्त आउनु ’भनेर बोलाएका थिए ।

‘टाढा जाँदै छु भन्ने मनमा लागेर हो कि ! आमा, बा र सानो छोरा अनि श्रीमतीको अ‍ैद्यी माया लागेर आयो घर छोड्नु अघि । मनमा उत्साह पटक्कै थिएन् । लामो कसरत पछि आएको भिसा छोड्न मिलेन । छोडेर के गर्ने ? भारतमा गएर कमाएको पैसाले घरमा चिया खान पुग्दैन थियो । महिनाको २० हजार मेरा लागि धेरै ठूलो पैसा थियो । मैले कतारका लागि मंगलबार विहान घर छोडर हिडें,’ ऋषिरामले भने ।

बुधबार विहान छ बजे नै काठमाडौ आईपुगे । काठमाडौमा चिनेको र आफ्नो भन्ने धनिराम दाइ थिए । चक्रपथमा भेटेर उनीसंगै स्काई म्यानपावर कम्पनीमा गए, उनी । म्यानपावरले ‘फ्लाइट’ रद्ध भएको बताउदै गंगबुको सयपत्री गेष्ट हाउसमा ऋषिरामलाई बस्न पठायो ।पाँच तल्ले गेष्ट हाउसको दोस्रो तल्लामा उनी जस्तै फ्लाइट रद्ध भएकाहरुका बीचमा पुगे । सबै अपरिचित आफूजस्तै गरिबीको मार खेपेका निरीह युवाहरु देखेपछि दुःखको भागीदार आफूमात्र रहेनछु भन्ने उनलाई लाग्यो । सामूहिक कोठाको एउटा खाट समातेर उनी सयपत्रीमा वस्न थाले । त्यही घर कतिलाई काल बन्यो र ऋषिरामलाई अभिषाप ।

झण्डै चार दिनसम्म एउटै कोठामा संगै वसेका हामीहरुका बीच कुनै आत्मीय सम्बन्ध हुन सकेन । विभिन्न ठाउँबाट आएकाहरुलाई मेनपावर कम्पनीले संयुक्त कोठामा सुताएको थियो । तराईका केही साथीहरु थिए । उनीहरु आपसमै रमाएका थिए । पुरानो चिनजान भएका साथीहरु म संग कोही थिएनन् । सबै आफ्नै धुनमा थिए । म पनि त्यस्तै । खासै कसैसंग परिचय भएको थिएन ।

बैशाख १२ गते खाना खाएर कोठामै बसिरहेको थिए । मसंगै अरु दुई जना पनि थिए । अरु भने बाहिर बजार घुम्न निस्किएका थिए । बसिरहेका बेला एक्कासी घर घुम्न थाल्यो । भूकम्प आयो भन्दै भाग्न थाल्यौ । माथि बाट ३ तल्ला हामी माथि खस्यो । मेरा अगाडि दुई जना थिए । एक जनालाई छतले च्याप्यो केही समय लामो सास फेर्दै थिए । करिब २० मिनेट पछि उनको आवाज बन्द भयो । उनी मरे भन्ने लाग्यो । अर्को साथी तपाई चिच्याउनुस् , म पनि चिच्याउँछु , कसैले हाम्रो उद्धार गर्न सक्छ । मलाई चिच्याउन उकासिरहेका थिए । हामी दुवै जना रुनेकराउने गरिरहेयौँ । करिब दुई घण्टा पछि त, उनी पनि बोल्न छोडे । मैले पटक–पटक साथी–साथी भनेर बोलाए । कुनै आवाज आएन । अध्यारो सिवाय केही थिएन हात तन्काउदा उनलाई छुन सक्थे तर देख्दिनथे । उनी पनि मरे भन्ने लाग्यो ।” बैशाख १२ को मध्यदिनको त्यो कहाली लाग्दो घटना सुनाउँदा–सुनाउदै ऋषिरामका आँखा आँसुले भरिए ।

‘हेर्नुस् न रुदा– रुदा मेरा आँसु सिद्धिएका थिए ,फेरि भरिन थालेछन’ मधुरो हाँसो अनुहारमा ल्याउने प्रयास गर्दै थिए ,उनी । साथमा रहेकी १९ वर्षीया श्रीमती कविता खनालका गालाबाट आँसुका भल मग्न थालिसकेका थिए । ‘भाग्दा–भाग्दै कसो–कसो म कुनाको चेपमा परेछु । ठूलो ढलानले मेरो खुट्टा च्याप्यो । तान्ने प्रयास गरे , सकिन । बा, आमा,छोरा र श्रीमतीलाई लाख पटक संझिए । त्यति नै पटक मृत्यु पनि संझिए,’ ऋषिरामले भने ।

‘यस्तो गरेर बाँच्नु भन्दा मर्नु निको लाग्यो । संगैका दुईजना मरिसकेका थिए । विस्तारै उनीहरुको शब गनाउन थालेको थियो । २ दिन सम्म धनिराम दाइलाई बोलाइरहे । म बसेको ठाउँ उहाँलाई थाहा थियो । मेरो खोजीमा आउनुहुन्छ कि भन्ने आश म, मा यति धेरै रह्यो कि, म उहाँलाई मात्र बोलाउन थाले । ‘दुब्लो शरिर, मनिलो अनुहार बोकेका ऋषिरामले पीडाका ती, दिन सम्झदा सुन्नेको आङ्ग काप्ने अवस्था थियो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको आँखा कार्डको ४०४ क्याविनको एक छेउमा त्यही नियति बोकेर हामीले ऋषिरामलाई सुनिरह्यौ । घरि उनी रुन खोज्थे घरि हामी । संगै वसेकी श्रीमती कविताका आँखा यसैयसै बघिरहेका थिए । स्तब्ध वातावरणमा ऋषिरामको जीवन सुन्दै थियौँ हामी ।

‘रातदिन छुट्याउन सक्ने अबस्था थिएन । थुलो र गर्मीले ज्यानमा औडाह मात्र थियो । बोली बन्द भइसकेको थियो । आफन्त र प्रियजनहरुलाई सम्झदा मन बटारिएर आउँथ्यो । म निरुपाय थिए । घाँटी सुकेर प्याक– प्याक बनिरहेको थिए । बल्लतल्ल गोजीको रुमाल झिके र रुमालमा पिसाव गरे । अनि त्यही रुमाल चुसेर घाँटी भिजाउने प्रयास गरे । प्राण नगए पछि मान्छेले बाँच्न जस्तो सुकै उपाय गर्दोरहेछ । म पनि त्यही अवस्थामा थिए ।’ उनले भने ।

‘पाँच तलाको भवनमा म दोस्रो तल्लामा थिए । मेरो उद्धार होला भन्ने कल्पना पनि गर्न छोडिसकेको थिएँ मैले । मरेर लडेका दुईजना बरु भाग्यमानी रहेछन् ,जस्तो लागेर आउँथ्यो घरिघरि ।आफ्नो प्राण सुकेरै जाने रहेछ भन्ने लाग्यो ।’ साथमा रहेको ७ महिनाको छोराको अनुहारमा गहिरिएर हेर्दै ऋषिरामले पीडाको चरम रुप बताउदा अबोध बालकमा भिन्न चञ्चलता देखिन्थ्यो ।
बैशाख १५ गते विहानै देखि उनको उद्धारका लागि अन्तर्रा्ष्ट्रिय टोली खटिएको थियो । मान्छे जिवीतै हुनसक्ने भएका कारण उद्धार टोली अति सचेत थियो । साँझ कसैले ढलान फोड्दै गरेको ऋषिरामले चाल पाए । अनि ढुङ्गाले भित्तामा ठोक्न थाले । त्यही आवजका भरमा उनको खुट्टा च्यापिएको ढलान पछ्याए ।

‘खुट्टा चलेको जस्तो लाग्दै थियो । उद्धारकर्मीले खुट्टा चल्छ रु भन्दा चल्छ भने । पहिलो पटक उज्यालो देख्दा मलाई असैह्य भयो । घर फलफनी घुम्यो । मलाई स्टेचरमा राखेर अस्पताल पुर्याउन खोज्दा भूकम्प आयो भनेर म जोडले चिच्याए । घर मान्छे सबै–सबै घुमेकाघुमै मात्र , म अत्तालिए ।’ उनले भने । अस्पतालमा आएर जाँचपड्ताल गरे पछि ऋषिरामले हतारहतार डाक्टरलाई सोधे डाक्टर साहब मेरो खुट्टा के हुन्छ रुतपाईको खुट्टा ठीक छ । डाक्टरको प्रतिउत्तरले उनमा खुशीको सीमा रहेन । चार दिन सम्मका सम्पूर्ण कष्टहरु क्षणभरमै भुले । मनमा शान्ति छायो भुसुक्क निदाएछन् पनि । ‘अप्रेशन थिएटरमा’ लादै गरेको याद त गरे , तर अप्रेशनसंगै खुट्टा काटिएको थाहा पाएनन् । जब घुँडा भन्दा तलको खुट्टा देखेनन् , उनी कहालीएर चिच्याउन थाले ।

‘मलाई पहिलो पटक त कनि बाँचे भन्ने पनि लाग्यो । अर्घाखाँची जस्तो विकट पहाडमा बस्नु छ । यस्तो अवस्थामा । मलाई बाँच्न मन पटक्कै भएन । मर्न पनि त सजिलो थिएन । दुई घण्टासम्म रोए, पछि मैले चित्त बुझाए ।’ ऋषिरामले मनको पीडा सुनाए । अति सामान्य परिवार । घरमा आयस्रोत केही छैन् । ४ दाजुभाइ मध्य एक जना छुट्टिएका छन् । अरु ३ दाजुभाइ र आमा, बासंगै छन् । दाजुभाइहरु विदेश नजाने हो ,भने घरको विजोग हुन्छ । कुनै पनि दाजुभाइले पढेका छैनन् । ऋषिरामले ८ कक्षासम्म पढेर छोडे ।

मेरो अबको चिन्ता यो सानो छोरा र श्रीमती । अरु दाजुभाइ र आमा बा त जेनतेन पालिएलान । मेरो काँधमा आएका यी दुईलाई मैले कसरी पाल्ने होला । अस्पतालमा करिब ६ महिना राखेर डिस्चार्ज गरिदियो । अस्पतालमा वसुञ्जेल त सबै आए, भेटे । माया गरे यहाँबाट गएपछि मैले के गर्ने होला । भगवान । ऋषिरामले यति भनिसक्न नभ्याउदै पत्नी कविता डाँको छोडेर रुन थालिन । संगै ऋषिरामपनि । काखकोे छोरा अतालियो । दुःखले गरिबलाई नै सताउँछ । अब ऋषिरामले बाच्नु पर्छ । सामाजप्रति उनको ठूलो भरोसा छ । ‘दुईचार लाख पैसा भइदिएको भए कवितालाई पसल गर्न लगाउँथे । म पनि काम गर्थे ।’ अनुहारमा थोरै खुशी छर्दै उनले भने । उनका लागि अब सहयोगी हातहरुको खाँचो छ ।

उपचार गरेर घर फर्किंदा काठमाडौं नफर्कने अठोट गरेका ऋषिराम बैशाखी टेकेर उपचारका लागि बेला बेला आइपुग्छन् । उपचार गर्दाको ९० हजार ऋणको बोझ छ उनीमाथि । बैशाखीको साहारामा दौडिदै गरेको अहिले यो जिन्दगी उनलाई सा¥है भारी भइरहेको छ । उनी सम्झन्छन ‘मरेर त बाँचियो तर यतिबेला बाँचेर मर्दैछु ।’प्रसुतुत  इमेज खबर  बाट