दोलखामा पहिराले घर पुरियो, एकको मृत्यु, १ घाइते
दोलखा, साउन २६ – दोलखा जिल्लाको डाँडाखर्क गाविस पाखाटोल भन्ने गाउँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १४ वर्षीय रिजु गिरी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए ।
मृतककी आमा ४५ वर्षीया लिलाकुमारी गिरी पनि गम्भीर घाइते भएकी छन् ।
उनलाई उपचारका लागि चरिकोटतर्फ प्रहरी टोलीले ल्याउँदै गरेको छ ।
पहिरोबाट अन्य तीनजना भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
त्यसैगरी काठमाडौँ दोलखा आवातजावत गर्ने चरङ्गे पुल बाढीले यस अगाडिनै बगाएको थियो ।
अस्थायी आवतजावतका लागि हेम पाइप प्रयोग गरी बनाइएको पुलसमेत पहिरोले बगाएपछि जिरी–दोलखा काठमाडौँ–रामेछापदेखि काठमाडौँसम्मका यातायात अवरुद्ध भएको छ ।