गृहपृष्ठ » समचारमाडीले किन सधै अपमानको पीडा सहनुपर्ने?

माडीले किन सधै अपमानको पीडा सहनुपर्ने?

April 27, 2016१०५ पटक

गो12743513_1237384522943921_5614936051749189297_nविन्द न्यौपाने।

अध्यक्ष प्रचण्डज्यू, सन्चै हुनुहुन्छ होला? आरामको कामना गर्दछु। आज–भोली त स्वास्थ्य स्थितिलाई ख्याल गर्दै ३ बजे अगाडी कसैलाई नि भेट्नु हुदैन रे भन्ने सुनेको थिए। अब विस्तारै–विस्तारै राजनितीबाट विश्राम लिनुपर्यो भन्ने प्रेसर तपाईकै स्वास्थ्यले सायद तपाईलाई गर्न लागे जस्तो छ। अध्यक्ष प्रचण्डज्यू, म तपाईकै गृह जिल्ला चितवनको माडीको एक युवक हु। पेशाले पत्रकारिता गर्छु। अध्यक्ष प्रचण्डज्यु, तपाईले विर्सिसक्नुभएको तपाई अनि तपाईको पार्टी एकिकृत नेकपा माओबादी र हाम्रो यो माडीको सम्बन्धको पुर्नताजगी गराउन मैले यो पत्र तपाईका लागि लेख्दै छु। तपाईले माडीका लागि तत्काल गर्नुपर्ने केही कामहरुका लागि अनुरोध पनि गर्न खोज्दै छु। यदि तपाईले चाहनु भयो भने एक कल फोनको भरमा ति कामहरु बन्ने छन्। जसको परिणाम माडीको रुपनै फेरिने छ। सम्बृद्ध माडीको ढोका उघारिने छ।

अध्यक्षज्यू, ईतिहासका हिसाबले आज जबरजस्त माडीलाई पछाडी पारिन खोजिदै छ। ईतिहासमा माडीले लगाएको गुन अहिलेको नेतृत्वले विर्सिए जस्तो छ? नेपाल–अंग्रेज युद्ध देखि देशमा भएका विभिन्न परिवर्तनका आन्दोलनहरुको साक्षी हो–माडी। तपाईलाई थाहै होला, ति बेलाका शासक बर्गले नेताहरुलाई खोजी–खोजी जेल हाल्दा, माडीका जनताले ति नेताहरुलाई यहि ठाउँमा ल्याएर लुकाएका थिए। नेताहरुलाई खुट्टा नकमाउन झक्झकाई रहन्थे, दरिलो साथ दिएका थिए अनि सधै त्यो बेलाको नेतृत्वलाई हौसाई रहन्थे। वि.पि. कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्राई, पुष्पलाल लगायतका नेताहरुको नेतृत्वमा भएका आन्दोलनलाई माडीले दरिलो साथ दिएको थियो। यहि माडीको बाटो भएर नेताहरु भारत जाने अनि आउने गर्थे। ति ब्यक्तित्वहरुले आफ्नो आत्म–वृतान्त लेख्ने क्रममा माडीको भुमिकाको प्रशंग सबैले उल्लेख गरेका छन् सायद हजुरले नि अध्ययन गर्नुभएकै होला? अध्यक्षज्यू, तपाई आज जुन ठाँउमा हुनुहुन्छ, जुन राजनितीले यो देशको कार्यकारी समेत तपाई बन्नुभयो, त्यो राजनितिक दिशाको जग माडी हो भन्ने कुरा आज आएर तपाईले विर्सिदा तपाईका निम्ती यो पत्र लेख्न म बाध्य बनेको हु। यो नसोच्नु होला कि, तपाईको कार्यकर्ता चाहि म होईन्। आशा छ तपाईले यस पत्रको जवाफ पक्कै पनि पठाउनु हुनेछ। गोर्खाको एक विद्यालयको शिक्षण पेशा छोडेर जब तपाई राजनितीमा होमिनुभयो, विचमा जे जति होमवर्क गरेपनि तपाईको राजनितिक करियरको पहिलो अध्याय यहि माडीको भुमिबाट सुरु भएको थियो। सायद मैले यो कुरा भनिरहदा म अलि बाठो भए जस्तो, ईन्द्रका अगाडी स्वर्गको बखान गरे जस्तो तपाईलाई लाग्ला। तपाईले जबरजस्त विर्सन खोज्नु भएको यो कुरालाई मैले झस्काउन मात्र खोजेको हु। तपाईको नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट सशस्त्र युद्ध तपाईको भाषामा जनयुद्धको औपचारिक सुरुवात भएता पनि यसको प्रारम्भ यहि माडी बाटै भएको थियो। वि.स. २०४८ साल मंसिर महिनामा माडीको सितलपुरमा तत्कालिन नेकपा–चौम, नेकपा (मोटो मसाल), नेकपा (पातलो मसाल), सर्बहारा श्रमिक सगंठनको एकताको महाधिबेशनबाट देशको शासनसत्ता परिवर्तन गर्ने भन्दै शसस्त्र युद्धको लाईन पास गराउनुभएको थियो। जसको नेतृत्व तत्कालिन महासचिब तपाइले गर्नुभएको थियो। हो, माडीमा त्यहि दिनको निर्णयले आज तपाई देशकै हिरो बन्नु भएको छ। तर तपाईको राजनितिक करियरको साईत जुराई दिएको त्यहि माडीलाई आज तपाईले विर्सनुभएको छ। त्यस दिन पछि तपाईकै कुरालाई आधार मान्दा खेरी १ पटक भन्दा माडीमा पाईला टेक्नु भएको छैन्। आफ्ना लागि लाजिम्पाटमा विलासीको घर जोड्नु भो तर माडीका विषयमा कहिल्यै सोच्नु भएन्। सयौ पटक चितवन आउनु भयो। तर सदरमुकाम भरतपुरबाट २७ कि.मी.को दुरिमा रहेको माडीमा एक पटक पनि आउनेको त कुरै छाडौ, माडीको हालखबर बुझ्ने चेष्टा पनि कहिल्यै गर्नु भएन तपाईले। दिनु भयो त केबल चोट, पिडा मात्रै, अनि ३८ जनाको ज्यान नै जाने गरी विस्फोटको उपहार, जसमा परेर आज पनि कति माडीबासी अपाङ्ग जिवन जिउन बाध्य छन्। वि.स.२०६२ जेष्ठ २३ गते माडीको बादरमुढेमा जुन एम्बुस विस्फोट गराउनुभयो अनि दाङ्गमा बसेर आफ्नो युद्धकालिन समयको सबैभन्दा कलङ्कित काम भयो भन्दै विज्ञप्ती जारी गर्नु सिवाय आजसम्म पनि तपाईको तर्फबाट ति पिडित ब्यक्ति अनि तिनका परिवारलाई मलम लगाउने काम गर्नुभएको छैन्। सबैले अनुभुति गर्नेगरि तपाईले आज सम्म पनि केहि गर्नु भएन्। घटना घटेको स्थल नजिकै रहेको माडी मा.वि.मा त्यतिखेर म कक्षा १० मा पढ्थे। रेडक्रसले बेला–बेलामा दिने गरेको प्राथमिक उपचारको तालिम लिएकै भरमा मैले बरु जे जति त्यो दिन उद्धारको काम गरे तपाई देशकै कार्यकारी पदमा पुगेर पनि त्यतिको काम नगर्दा आज पनि यो मन खिन्न भैरहेको छ।
एकताको महाधिबेशन पछि एक पटक मात्रै माडीमा पाईला टेक्नु भएको २०६९ साल फागुनमा भएको पहिलो माडी महोत्सवको उद्घाटन गर्नका लागि हो। म त्यतिखेर चितवनको कालिका एफ.एम.मा काम गर्थे, अनि रिपोर्टिङ्गका लागि म पनि माडी पुगेको थिए। मलाई लागेको थियो, माडीमा तपाईको त्यो आगमन निक्कै नै फलदायी हुनेछ। माडीबाटै सुरु भएको सशस्त्र युद्धको बिजारोपण अनि माडीमै बज्रिएको एउटा चोटमा मलम लगाउनका लागि तपाईका लागि सुवर्ण अबसर थियो। यो अबसरको अध्यक्ष प्रचण्डले सदुपयोग गर्ने भए। पिडित परिवारलाई प्रचण्डले भेट्ने छन्। तर, त्यो दिनको दृश्य देखेर नेता भनेका त यस्ता पो हुने रहेछन् भनेर पहिलो पटक मेरै आखाँ अगाडी जान्ने मौका पाए। पिडितहरुसगँ भेटवार्ता गर्नुको सट्टा उनिहरुलाई ईलाका प्रहरी कार्यालय, माडीमा थुनाएर महोत्सवको उद्घाटन कार्यक्रममा पिडितहरुका लागि ६० लाखको प्याकेज ल्याएको छु भनेर गर्जिनु भयो। तर मलाई त्यति बेलानै तपाईको त्यो आश्वासन पत्यार लागेको थिएन्। आखिर भयो नै त्यहि। खै कता गयो ६० लाखको प्याकेज?? त्यो दिन तपाईले गल्ती गर्नुभएको थियो, छोटो समय भए पनि पिडितहरुलाई भेट्नु पर्‍थ्यो। तर उनीहरुलाई तिरस्कार गरियो।
अध्यक्षज्यू, तपाईको प्रेसर पनि अलि हाई छ भन्ने सुनेको छु। विगतका यि तिता कुराहरु गर्दा तपाईलाई झ्याप्पै रिस पनि उठ्ला तर बास्तविकता यहि नै हो नि। हैन र? अध्यक्षज्यू, माडीका लागि तपाईले केही नगरे पनि समग्र नेपालका लागि शान्ती–प्रक्रियामा आएर, संविधान सभाबाट संविधान जारी गराउने बिषयमा तपाईको भुमिकाको ईतिहासले मुल्याङ्कन पक्कै पनि गर्ने छ। अझै पनि देशका विभिन्न क्षेत्रमा देखिएका राजनितिक असन्तुष्टिहरुलाई सम्बोधन गर्दै देशलाई समृद्धिको दिशामा डोर्याउन नेतृत्वदायी भुमिका निर्वाह गर्नुहोस्, यसमा मेरो तपाईलाई शुभकामना पनि छ।
अध्यक्ष प्रचण्डज्यू, पत्र साह्रै लामो भयो भनेर पढ्न पनि झर्को मानेर च्यातेर डस्विनमा फाल्न मन लाग्यो होला है? तर झर्को नमान्नु होला है। खासमा तपाईलाई पत्र लेख्नुको मेरो उद्देश्य अब कोर्दै छु। तपाईले माडीलाई गुन नलगाए पनि माडीबासीले भने तपाईको पार्टीलाई गुन लगाएका छन्। पहिलो संविधान सभामा तपाईको पार्टीले समर्थन गरेको तत्कालिन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनलाई चुनाब जिताए। तर के गर्नु चुनाब जितेर गए पछि कहिल्यै माडी फर्किएनन् उनि। उनि फर्किए त, केबल दोस्रो संविधान सभाको चुनाबमा मात्रै। चुनाबमा मात्रै आउने पार्टी अनि नेता काम छैन् भनेर माडीबासीले धुलो चटाईदिए। खुम्च्याईदिए तेस्रो स्थानमा अमिक बालाई। विगतमा जे भयो भयो। विगतको नराम्रो दागलाई मेटाउनका लागि पनि तपाईले माडीमा आफ्नो उपस्थीति बढाउनु पर्थ्यो। समृद्ध माडीका लागि अहिले तत्काल गर्नुपर्ने ३ वटा कामहरु छन्। ति अगाडी पनि बढेका छन्। तर के गर्नु विडम्बना २ दशक वितिसक्दा पनि त्यसले पुर्णता पाउन सकेका छैनन्। त्यसको सम्बोधन तपाईले चाख लिएर गरिदिनुभयो भने गलाभरी माला लगाउने तपाईको चाहना फेरी एकपटक माडीबासीले पुरा गरिदिनेछन्। तपाईको गुणगान गाउनेछन्। अनि सुरक्षा दस्ताको घेरा भित्र लुकेर जसरी माडी महोत्सवको उद्घाटन गर्न गएजसरी जानै पर्दैन। स्वयंम माडीबासीले फुलमालाले स्वागत गरेर, बाजा बजाएर तपाईलाई माडी परिक्रमा गराउने छन्। तर जुन ३ कुरा मैले तपाईलाई अहिले पत्र मार्फत भन्न खोजिरहेको छु। त्यो पुरा गर्न पहल गर्नुभयो भने मात्रै। कामहरु सकिसकेका छन् मात्रै त्यसलाई सुचारु गराउन पहल गरिदिए मात्रै हुन्छ। जस पाउने अनि माडीमा विग्रिएको तपाईको सम्बन्ध सुधार्ने यो नै एकमात्र विकल्प अनि उत्तम अवसर पनि हो। सदुपयोग गर्नु होला है। मैले यो पत्र प्रधानमन्त्रीका निम्ती नलेखेर तपाईका निम्ती किन लेख्दै छु भने, यि कामहरु गर्नका लागि मन्त्रीपरिषदको निर्णयको खाचो छैन् सम्बन्धित मन्त्रालयहरुले नै गर्न सक्छन्। र, यि सबै मन्त्रालयहरु तपाईको पार्टीको भागमा छ, तपाईको पार्टीबाट गएका नेताहरुले सम्हालेका छन्। ति मन्त्रीहरुले ध्यान दिएनन्। त्यसैले मैले तपाईसँग अनुरोध गरिरहेको छु। र, भनिरहेको छु माडीसँग विग्रिएको साईनो पुनः गास्ने तपाईका लागि यो नै उत्तम विकल्प हो।
माडी विद्युतिकरण
अध्यक्ष प्रचण्डज्यू, साह्रै लज्जाका साथ यो कुरा तपाईलाई भनिरहेको छु। सामान्य–ज्ञानमा एउटा प्रश्न थपिएको छ। विजुली नपुगेको नेपालको एक मात्र नगरपालिका कुन हो? अनि त्यसको जवाफ हो माडी। माडीमा विजुलीको आबश्यकता हो नै। त्यो भन्दा पनि ठुलो विषय माडीमा विजुली प्रतिष्ठाको विषय बनेको छ। माडीको प्रतिष्ठासँग विजुली गासिएको छ। माडीमा विजुली बाल्नकै लागि काम प्रारम्भ गरिएको २ दशक भयो। तर आजसम्म माडीमा बिजुली बलेको छैन्। माडीमा विजुली बाल्नका लागि सबै काम सकिसकेको छ। परिक्षणका रुपमा माडीको बसन्तपुरमा रहेको सब–स्टेशनमा विजुली बालिएको पनि डेढ बर्ष भै सक्यो तर नियमित रुपमा अझै विजुली बलेको छैन। चनौलीमा रहेको सब–स्टेशनबाट स्विच अन गरेर बसन्तपुरमा रहेको सब–स्टेशनमा रहेको सिस्टमलाई चार्ज गराउन नसक्दा आजसम्म पनि माडीबासीको विजुली बाल्ने रहर पुरा हुन सकेको छैन्। सुन्दा पनि कस्तो लाजमर्दो कुरा जाबो स्विच अन गर्नका लागि पनि राजनितिक, विद्युत प्राधिकरणका कर्मचारीको सरुवा, बढुवाको खेल यहाँ चलिरहेको छ। जसको नतिजा सबै काम सकिएर पनि माडीमा विजुली बल्न सकेको छैन। अनि उल्टै कहिले निकुञ्जमा तार जल्यो, कहिले माडीबासीले नै अबरोध गरिरहेका छन्। हाईटेन्सन लाईनको तारलाई बासँको पातले छोयो त्यो काट्न दिईएन् यति सम्मको हर्कत गरेर माडीबासीलाई गुमराहामा राख्ने काम भइरहेको छ। कि त भन्दिनु पर्यो माडीबासीले सरकारी विद्युत बाल्ने अधिकार छैन्, पाउदैनौ भनेर। होईन भने किन? रोकिदैछ माडीबासीलाई विजुली बाल्नबाट। विद्युत प्राधिकरणका ईन्जिनियर, कर्मचारीसँग कैयन पटक म आफै पनि फिल्डमा गएको थिए तर उनिहरुको ढिला–सुस्ती अनि काम गर्ने तरिका देखेर मलाई लाग्थ्यो, यहि ताल हो भने, नेपाल समृद्धिको दिशातिर होईन रुवाण्डा, हैटी चाहि पक्कै बन्छ। यतिखेर उर्जा मन्त्रालय तपाईहरु सगँ छ। तपाईकै पार्टीका नेता टोपबहादुर रायमाझीले यो मन्त्रालय सम्हाल्नु भएको छ। मन्त्री रायमाझीले चाहनु भयो भने एक दिनमै माडीमा विजुली बल्न सक्छ। तर विडम्बना अनौपचारीक रुपमा कत्ति पटक उहाँसम्म यो विषय अबगत गराउदा पनि बेमतलब गरिदिनुभयो। त्यसैले अध्यक्ष ज्यु, यो पत्र पढ्ने वित्तिकै मन्त्री रायमाझीलाई निर्देशन दिनुहोस्। माडीमा विजुली नबालेसम्म विद्युत प्राधिकरणका कर्मचारी त्यहाँबाट फर्किन नपाउन् भनेर। यदि तपाईले चाहनु भयो भने चाहि यो एक कल फोनको काम हो।
चितवन राष्ट्रिय निकुञ्जको बाटो २४ सै घण्टा सुचारु नहुदा सास्ती
अध्यक्ष प्रचण्डज्यू, दुरीका हिसाबले सदरमुकाम भरतपुर देखि माडी जम्मा २७ कि.मी. छ। त्यस अन्तर्गत विचमा ७ कि.मि. राष्ट्रिय निकुञ्ज पर्छ। निकुञ्जको सुविधा प्राप्त बाटो प्रयोग गर्दा एक देशबाट अर्को देशमा जाँदा हुने सुरक्षा जाचँको भन्दा पनि बढी यातना माडीबासीले भोग्दै आउनु परेको छ। हो, विश्व सम्पदा सुचिमा परेको निकुञ्ज हो। सुरक्षा हिसाबले चेकजाँच गर्नुपर्छ। चेकजाँचनै गर्न पाईदैन भन्न खोजिएको होईन तर चेकजाँचको नाममा कति सम्म सास्ती खेप्नुपर्छ भने युद्धकालको परिस्थीति अहिलेसम्म छ। सार्वजनिक बसमा यात्रा गर्यो। जब निकुञ्ज आउछ अनि बसका सबै यात्रु बसबाट झर्नुपर्छ। कोहि अशक्त, विरामी, बृद्धा अथवा बालबालिका छ भने पनि बसबाट नझारेसम्म बसको सुरक्षा जाचँ गरिदैन अनि बसलाई गन्तब्यमा पुग्नबाट रोकिन्छ। अनि निरिह हामी जनता यहि त हो देशमा गणतन्त्र आएको कमाल भन्दै लुरुलुरु सरकारी बर्दि लगाएका मान्छेले भनेको मान्नुपर्छ। कसैले प्रतिबाद गर्न खोज्यो भने कि त बुटनै खानुपर्छ कि त मुखभरीको गाली त हाम्रा लागि सामान्य नै भैसकेको छ। यति यातना भोगेर पनि २४ सै घण्टा निकुञ्जको बाटो हामीले प्रयोग गर्न पाउदैनौ। विहान ६ बजेबाट राती ८ बजे सम्म मात्रै सर्वसाधारणका लागि यो बाटो खुल्ला छ। यो निर्धारित समय भन्दा १ मिनेट मात्रै ढिलो–चाडो भयो भने पनि प्रबेश पाईदैन। अनि जगंलकै छेउमा रात काट्नु पर्छ। पर्साको शुवर्णपुरबाट माडी–भरतपुर हुदै राजधानी काठमाण्डौसम्म सुविधा सम्पन्न दैनिक ४ वटा रात्री डिलक्स बसहरु संचालनमा छन्। त्यसैगरी ठोरी–माडी–भरतपुर अनि माडी–पोखरा, माडी–बाग्लुङ्ग गरी दर्जनौ सुविधा सम्पन्न बसहरु यहि रुटमा चल्ने गर्दछन्। निक्कै नै ब्यस्त रहने भरतपुर–माडी–ठोरी यो हुलाकि सडकमा पर्ने यो ७ कि.मी. निकुञ्जको बाटो २४ सै घण्टा सुचारु नहुदा, निकुञ्ज समग्र देशका लागि बरदान सावित भएपनि, माडीबासीले नै दिन–रात पहेरा दिएर बचाएको यो निकुञ्ज स्वयंम माडीबासीकै लागि पिडक बनाईनु हुन्न भन्ने मेरो अनि समग्र माडीबासीको माग हो । अध्यक्ष ज्यु, तपाईकै राजनीतिक सहकर्मि जो अहिलेको सरकारको बनमन्त्री समेत हुनुहुन्छ अग्निप्रसाद सापकोटा। उहाँले माडीको शिबद्धारमा होमस्टेको उद्घाटन गर्दै म यहाँबाट जाने वित्तिकै निकुञ्जको बाटो २४ सै घण्टा सुचारु गराउछु। निकुञ्ज भित्रको बाटोको स्तरोन्नतीका लागि सबै अड्चन हटाउछु भनेर माडीबासीलाई आश्वास दिएर जानुभएको थियो। मन्त्रीज्यू खै प्रक्रिया कहाँ सम्म पुग्यो? माडीबासीले निकुञ्जको सुविधा प्राप्त बाटो २४ सै घण्टा कहिले प्रयोग गर्न पाउछन्? अध्यक्षज्यू, यो प्रश्न मन्त्रीज्यूलाई सोध्दिनुहोला है मेरो तर्फबाट। तर विडम्बना काठमाण्डौ पुगेपछि उहाँले आफुले बोलेको बोलीलाई हावामा उडाई दिनुभयो। ४ महिना वितिसक्यो माडीबासीको समस्या उस्तै छ। मन्त्रालयबाट दरबन्दी मिलान गरेर ३ सिफ्टमा कर्मचारीको ब्यबस्थापन गर्दिने हो भने मात्रै पनि यो समस्या हल हुन्छ। तर यति कुरा पनि बन मन्त्री सापकोटाले गर्न चाहनु भएन। यदि तपाईले चाहनुभयो भने चाहि यो एक कल फोनको काम हो।
प्राविधिक शिक्षा सहितको शिक्षालय
अध्यक्षज्यू, माडीमा क्याम्पस, सरकारी विद्यालय, निजी विद्यालय संख्याका हिसाबले लगभग प्रयाप्त छन्। तर यि पाठशालाहरुमा विद्यार्थी ज्यादै न्युन संख्यामा छन्। यहि अबस्था रह्यो भने अबको केहि बर्षमा एक विद्यार्थी एक कक्षा कोठा हुने निश्चित प्राय छ। किनकी समयको माग अनुसार, विद्यार्थीको चाहना अनुसारका गुणस्तरिय प्राविधिक विषयबस्तु नहुँदा नचाहेर पनि माडीका विद्यार्थीहरु पढ्नकै लागि माडी छाड्न बाध्य छन्। सुनिएको थियो, यहि शैक्षिक–सत्रबाट माडीका केही विद्यालयमा प्राविधिक शिक्षा सुरु हुन्छ। सम्बन्धनका लागि केहि विद्यालयहरुको दौडधुप पनि निक्कै थियो। तर, कुनै पनि विद्यालयलाई सम्बन्धन दिईएन्। कारण के हो? माडीका विद्यार्थीहरुले अनि माडीबासीले थाहा पाउन सकिरहेका छैनन्। अध्यक्ष ज्यु, शिक्षा मन्त्रालयको नेतृत्व तपाईकै पार्टीका एक बुद्धिजिवि नेता गिरिराजमणी पोख्रेलले गर्नुभएको छ। सम्बन्धन दिने विषयमा किन उहाँले चासो दिनु भएन? सम्बन्धीत विद्यालयहरु अन्योलमा परेका छन्। माडीका केहि विद्यालयबाट सम्बन्धनका लागि पुगेका ति फाईलहरुलाई तत्काल अगाडी बढाउन हजुरले अभिभाकत्वको भुमिका निर्वाह गर्नुहुनेछ भन्ने आशा लिएको छु। त्यसैगरी माडीमा रहेको एक मात्र माडी क्याम्पस भौतिक सुविधाले सुविधा सम्पन्न छ। माडी कृषिका लागि उर्वर ठाँउ हो। यस क्याम्पसमा प्राविधिक सहितको कृषि शिक्षाको पनि पठन–पाठन गराउन सक्ने हो भने विद्यार्थीको चाप पनि बढ्ने थियो। माडीमा आबश्यक कृषि प्राविधिकको पनि यसले परिपूर्ति गर्ने थियो। हुनत अलिकति लामो प्रक्रिया होला? रामपुर कृषि क्याम्पस सगँ सहकार्य समन्वय गराएर रामपुरकै एउटा कार्यक्रम माडी क्याम्पसमा संञ्चालन गराउन सक्ने हो भने माडी क्याम्पसको गरिमा थप बढ्ने थियो। अहिले कृषि मन्त्रालय पनि तपाईकै पार्टीका नेता हरिबोल गजुरेलले सम्हाल्नु भएकोले यो काम गर्न सहज अनि संम्भव पनि छ।
अध्यक्ष प्रचण्ड ज्यु, पत्र साह्रै लामो भयो भनेर झर्को त मान्नु भएको छैन् नि? माडीका समस्या अरु पनि छन् तर तक्काल माडीका लागि गर्नुपर्ने काम यिनै हुन्। यद्यपि माडी एकदमै संम्भावना भएको ठाँउ हो। तपाईलाई पक्कै पनि थाहा छ। मधेश आन्दोलनका क्रममा भारतले नाकाबन्दी लगाउदा राजधानी लगायत देशका प्रमुख शहरहरुको पेट्रोलियम पदार्थको माग यहि माडीले धानिदिएको थियो। यसबाट हामीले अब के पाठ सिक्नु पर्छ भने अन्य क्षेत्रबाट उपभोग्य बस्तुको आयातमा कठिनाई हुँदा निर्वाध रुपमा माडीको बाटोबाट सामान आयात गर्न सकिने यो छोटी भन्सारलाई प्रमुख भन्सारका रुपमा विकास गर्नुपर्छ। यो राष्ट्रिय गौरबको विषय हो।
हाम्रो माडीको प्रमुख चिनारी कृषि र पर्यटन हो। यसको विकास र प्रचार प्रसारका लागि माडीबासी पनि दिन रात लागि परेका छन्। माडीबासीको यो हैसेमा सरकारको उपस्थीति भईदिए अझ प्रभाबकारी हुने थियो। यि काम केहि मिनेटको भरमा तपाईले गर्न सक्नु हुन्छ। मात्र फलोअप चाहि गर्न नविर्सनु होला। यति काम गरिदिनु भयो भने तपाईको यो गुन माडीबासीले कहिल्यै विर्सने छैनन्। तपाई माडी आउन नचाहे पनि अझ भनौ माडी आउने वातावरण अनुकुल नभएको यो अबस्थामा स्वयंम माडीबासीले नै तपाईलाई माडी बोलाउने छन्। तपाईको जयजयकार गर्ने छन् । चुनाबमा कहाँ अलिकति पकट दरो छ, चुनाब जित्ने निश्चित हुन्छ भनेर ठाँउ खोजिरहनै पर्दैन्। तपाईले माडी रोजेको अबस्थामा आजिबन तपाईलाई माडीबासीले विजयी गराएर पठाउने छन्। अध्यक्षज्यू, तपाई अनि तपाईको पार्टीका लागि यति सुनौलो मौका कहिल्यै आउने छैन्। जुन मौकाले तपाईको धमिलिएको माडीको राजनितिक अबस्थामा सुदृढ हुन्छ भने यता समृद्ध माडीको ढोका उघारिन्छ। यदि तपाईले अब पनि माडीलाई बेवास्ता गर्नु भयो भने मैले मनलाई गह्रौ पारेर भन्नै पर्छ माडीमा तपाईको पार्टी फस्टाउन गाह्रै पर्छ। पहिलेका जनमोर्चा नेपालका केहि कार्यकर्ताले धान्दिएको माडीमा माओबादीको राजनिति स्वतह निरिह हुने छ। कार्यकर्ता हातको औलामा गन्न सकिने हुनेछन्। अध्यक्ष ज्यु, यस कुरालाई गम्भिरताका साथ मनन गर्नुहोला।
हवसत अध्यक्षज्यू पत्र अलि लामो भएकोमा माफी चाहन्छु। म विश्वासमा रहने छु तपाईले तत्काल यी कामलाई एक्सनमा लैजानुहुनेछ। अनि यो पत्रको जवाफ छिटै फर्काउनु हुनेछ। अहिलेलाई विदा हुन्छु । आबश्यक परे फेरी अर्को पत्र कोरुला। धन्यवाद।
उहि तपाईले विर्सन खोज्नु भएको माडीको एक युवक
गोविन्द

हाम्राकुरा अनलाइनबाट

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण