गृहपृष्ठ » सूचना प्रविधीमट्टितेल खन्याउँदा पनि आगो नलाग्ने घर अब नेपालमा (भिडियोसहित)

मट्टितेल खन्याउँदा पनि आगो नलाग्ने घर अब नेपालमा (भिडियोसहित)

April 28, 2016२३० पटक

नारायण अधिकारी/उज्यालो ।

काठमाडौं, वैशाख १६ – अहिले आगलागी घटना निकै बढेका छन् । स्याउलाले छाएका घरमा आगलागी हुने सम्भावना बढी हुन्छ । आगलागीबाट धनजनको क्षति धेरै हुन थालेपछि नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान नास्टले आगो लगाउँदा पनि नलाग्ने प्रविधिको सफल प्रयोग गरिसकेको छ ।

यसलाई नास्टका वैज्ञानिकले अग्नि प्रतिरोधक प्रविधिको नाम दिएका छन् । ‘अब नागरिकले आफ्नो घरको छानोमा हामीले भने जस्तो गरेमा घरमा आगलागी हुँदैन’ नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर जीवराज पोखरेलले भन्नुभयो । तराईका बर्दिया, कैलाली, कञ्चनपुर, सिरहा, धनुषा, सप्तरी, झापाका जिल्लालाई लक्षित गरेर यो प्रविधि ल्याइएको हो । यो प्रविधिको यसअघि सफल प्रदर्शन सुनसरीबाट गरिएको छ । अब अर्को प्रदर्शन एक हप्तामा सप्तरीबाट गर्ने योजनामा नास्ट छ ।

यो प्रविधिको सुरुवात भारतमा भइसकेको छ । ‘भारतले भने अर्कै प्रविधिमार्फत आगो नलाग्ने बनाएको थियो, त्यो महँगो प्रविधि हो । हामीले ल्याएको यो प्रविधि सुलभ र सजिलो छ’ नास्टका उपकुलपति पोखरेलले भन्नुभयो ।

यसरी बन्छ आगो नलाग्ने घर

यो प्रविधि कच्ची घरका लागि लक्षित छ । होचा कच्ची घर, खरले छाएका र भान्सासँगै भएका कारण घरमा आगलागी हुने गरेका घटना छन् । यस्ता घटनाबाट जोगिन र क्षति हुन नदिन नास्टले यस्तो प्रविधि ल्याएको हो । खासगरी तराईतिरका होचा खरले छाएका घरमा यो प्रविधि अपनाउन सकिन्छ ।

अहिले नागरिक बसिरहेका घरमा यो प्रविधिको प्रयोग गर्न सकिन्छ । जसका लागि घरको छानो माथि आधा इन्ची मोटोमा माटाले लिप्नु पर्छ । त्यसरी लिपेको केही समयपछि माटो सुक्छ । यसरी सुकेको माटोमा माथिबाट प्लाष्टिकले छोप्नु पर्छ । यसरी छोप्ने प्लाष्टिकलाई सिलपोलिन भनिन्छ । टनेलमा तरकारी खेती गर्दा प्रायः यही प्लाष्टिकको प्रयोग गरिन्छ ।

यो प्लाष्टिक १५ वर्षसम्म केही टिकाउ हुने गर्छ । अन्य प्लाष्टिक राख्दा पनि हुन्छ तर त्यो प्लाष्टिक टिकाउ नहुने भएकाले यो प्लाष्टिक राख्दा राम्रो हुन्छ । प्लाष्टिक राख्नुको अर्थ छानोमा लगाएको माटो पानी पर्दा नबगाओस् भन्ने हो ।

यसरी छानामाथि माटोको लेप लगाएपछि त्यहाँ हावा पस्ने सम्भावना हुँदैन । अझ प्लाष्टिकले झन हावा छिर्न दिँदैन । आगो बल्नका लागि कन्भेक्सनको आवश्यक पर्छ । हावा नछिर्ने ठाउँमा कन्भेक्सन हुँदैन । र कन्भेक्सन नभएपछि त्यहाँ आगो लाग्दैन ।

अर्कोतर्फ हावा नछिर्ने भएपछि घरबाट धुवाँ बाहिर जान पाउँदैन । धुवाँ बाहिर जान नपाउँदा धुवाँले नै आगोलाई निभाउने नाष्टका उपकुलपति पोखरेलले बताउनुभयो । यति भएपछि घर भित्रबाट सल्केको आगो पनि लाग्दैन । र बाहिरबाट लगाएको आगो पनि लाग्दैन ।

यदि बाहिरबाट आगो लाग्यो भने सिलपोलिन प्लाष्टिक जलिसकेपछि माटो भेट्छ र माटोमा आगो नलाग्ने भएकाले घर सुरक्षित हुन्छ । यसरी यो प्रविधि अपनाउने हो भने घर आगलागी हुनबाट जोगिन्छ ।

कार्यान्वयनमा समस्या

माटो निःशुल्क रुपमा गाउँघरमा पाइने र एउटा घरका लागि जम्मा १२ सयको प्लाष्टिक भए पुग्ने हुँदा पनि यो प्रविधि जनचेतनाका अभावले प्रयोग हुन सकेको छैन । तर योसँग सम्बन्धीत संस्थासँग समन्वय गरेमा निशुल्क पनि प्रयोग गर्न सकिने नास्टका उपकुलपति पोखरेलले बताउनुभयो ।

‘हामीले यो प्रविधि देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छौं । हेर्नेको थामी नसक्नुको भीड लाग्छ, उहाँहरुकै अगाडि हामीले घरमा आगो लगाएर देखाउँछौं, घरमा आगो नलागेपछि कतिपय अचम्मित हुँदै विश्वास गर्दैनन्’ नाष्टका उपकुलपति पोखरेलले भन्नुभयो, ‘हामी पनि वैज्ञानिक हौं, हामीले यो प्रविधिको सफल परीक्षण नगरि प्रदर्शन गरेका हैनौं ।’

अहिलेका लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली सुरुमा यो प्रविधिको सफल परीक्षण गर्दा गृह सचिव हुनुहुन्थ्यो । त्यसबेला उहाँले यो प्रविधि उपयोगी हुने भएकाले तत्काल कार्यन्वयनमा ल्याउने बताएपनि अहिलेसम्म कार्यन्वयनमा आउन सकेको छैन । सुनसरी र बर्दियाका केही ठाउँमा भने यो प्रविधिको प्रयोग भएको छ ।

आगलागी भएका हरेक ठाउँमा प्रदर्शन गरिने

अहिले देशका विभिन्न ठाउँमा आगलागी भएका छन् । आगलागीबाट ठूलो जनधनको क्षति भइरहेको छ । आगलागी नहुने घरको बारेमा जनचेतना फैलाउने उद्देश्यले नाष्टले देशका आगलागी भएका हरेक ठाउँमा यो प्रविधि प्रदर्शन गरेर नाष्टले देखाउने भएको छ । अबको एक हप्तामै सुनसरीबाट यो प्रविधिको प्रदर्शन सुरु गरिने भएको छ ।

यो प्रदर्शन गर्दा पहिला पुल्ठोमा आगो लगाएर घरको छानामा झोसिन्छ । यसरी छानामा आगो झोस्दा बल्दैन । नबलेपछि घरको छानामा मट्टितेल खन्याएर आगो लगाइन्छ । यसरी आगो लगाउँदा पनि मट्टितेल मात्रै बल्छ घरको छानो भने बल्दैन ।

http://ujyaaloonline.com/  बाट साभारीत ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण