गृहपृष्ठ » साहित्यमालिक

मालिक

May 1, 2016२५३ पटक

Sotantra© सोतन्त्र नेपाल

मालिक !
आज मजदुर दिवस
म जस्ता तमाम
पसिना बेच्नेको दिन
तर
आज मलाई छुट्टी होइन
मज्जाले काम गर्न दिनुस्
जसरी गर्दै आएको छु
घरिघरि सास फेर्न बिर्सिएर पनि
हजुरका हरेक तनाव यातना र थिचोमिचोमा पिल्सिएर
बर्षौं देखिको १२ घण्टे जागिर
हो म त्यसरी नै आज पनि गर्न चाहन्छु
कडा परिश्रम र बगाउन चाहन्छु पसिना
उमाल्न चाहन्छु मेरो खुन र गाल्न चाहन्छु
यो शरीरलाई कडा परिश्रमले सधैं जस्तै

मालिक,
स्मरण छ कि छैन हजुरलाई
मेरो देब्रे हातमा चोट लागेर
एउटा औंला गुमाउदा कति बगेको थियो खुन ?
र पनि मैले आराम भनीन
गरिरहे हजुरको सेवा
शायद बिर्सिनु भयो होला
आगोमा प्रेसर कुकर जस्तै
ज्वरोले शरीर तात्दा पनि
म हजुरकै सेवामा खटिएँ

मालीक,
मैले बगाएको पसिनाले कति कारखाना खडा गर्नु भो ?
कति चिल्ला गाडी फेर्नु भो?
कति महल खडा गर्नु भो ?
हजुरको दिन दुई गुणा रात चौगुणा हुँदै आयो
र म जस्ताको तस्तै छु
हिजो जस्तै आज पनि
तर मैले कहिले बिरोध गरिन र
गरिन गुनासो पनि

मालिक,
मलाई थाहा छ –
चोकचोकमा राता झण्डा बोकेर
मुक्ती र उत्थानका पम्प्लेट बोकेर
एकदिन जिन्दाबाद र मुर्दाबादका नारा लगाएर
कारखानाहरुमा ताल्चा ठोकेर
शुभ-कामना आदानप्रदान गरेर
म र म जस्ता
करौडौं पसिना बेच्नेको उत्थान हुने होइन
त्यसैले
मेरो मालिक
मेरो ईश्वर
मलाई छुट्टी होइन
सक्नुहुन्छ भने
काम गर्न दिनुस् सधैं जस्तै
३६४ दिन मैले तपाईंको लागि यो शरिर घोटेको छु
बस आज एक दिन मलाई
आफ्नो लागि कमाउन दिनुस् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण